सहाराको २३औं साधारणसभा सम्पन्नः रजतवर्षमा २५ कार्यक्रम गरिँदै
Published:
by .झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापाले चालू आर्थिक वर्षमा ६३ वटा कार्यक्रम सम्पन्न गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ ।
संस्थाको २३औं वार्षिक साधारणसभामा आज संस्थाका सचिव तथा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सो को अवगत गराएका हुन् । आगामी वर्ष सहारा नेपाल स्थापनाको रजत वर्ष पनि भएकाले २५ वटा विशेष कार्यक्रमहरु सञ्चालन गरिने उनले जानकारी गराए ।
संस्थाको वित्तीय स्थिति केलाउँदै सचिव गिरीले गत आर्थिक वर्षमा संस्थाको शेयर पूँजी ७९ करोड ६६ लाख ८० हजार ४०० रुपैयाँबाट बढाएर एक अर्ब २४ करोड ९६ लाख ११ हजार २०० रुपैयाँ पुर्याइएको जानकारी गराउँदै चालू वर्षमा एक अर्ब ६२ करोड बनाउने लक्ष्य सुनाए ।
यसरी नै संस्थामा चार अर्ब ६१ करोड ६३ लाख रुपैयाँ कूल निक्षेप रहेकोमा चालू वर्ष छ अर्ब ६० करोड पुर्याउने बताउँदै सचिव गिरीले यसै आर्थिक वर्षको अन्त्यमा संस्थाको वासलात ११ अर्ब रुपैयाँको बनाउने जानकारी दिए ।
संस्थाले चालू आर्थिक वर्षमा एक अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरी ३६ करोड रुपैयाँ मुनाफा आर्जन गर्ने लक्ष्य रहेको जनाइएको छ ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको प्रमुख आतिथ्यमा बिर्तामोडमा आयोजित साधारणसभा संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको थियो । साधारणसभाको उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष निरौलाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिए ।
वरिष्ठ उपाध्यक्ष निरौलाले संस्थाको वित्तीय लक्ष्य र प्रगति, संस्थाको समग्र लक्ष्य र प्रगति, लगानी व्यवस्थापनको अवस्था, गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यक्रमहरु तथा त्यसबाट प्राप्त उपलब्धीहरु सुनाएका थिए ।
यसरी नै लेखा सुपरीवेक्षण समितिका संयोजक भरतकुमार भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै गत साधारणसभामा प्रस्ताव गरिएका दर्जन हाराहारी कार्यक्रम सुरु नै नभएको अवगत गराए ।
यसैबीच, कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले एक नम्बर प्रदेशबाट कोही पनि युवा बाध्यताले श्रम बेच्न विदेश जानु नपरोस् भनेर मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम ल्याएको बताए । राज्यको तर्फबाट अत्यन्त कम ब्याजदरमा युवालाई लगानी गर्ने र उनीहरुलाई उद्यमी बनाउने प्रदेश सरकारको योजना रहेको सुनाउँदै मन्त्री आङ्बोले सो को कार्यान्वयनका लागि राष्ट्रिय सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघसँग छलफल भइरहेको पनि बताए ।
सहारा नेपाल साकोस झापाको मात्र होइन, प्रदेश १ कै स्थापित संस्था रहेको, उल्लेखनीय काम गरिरहेको तथा आगामी वर्षका लागि पनि संस्थाले थुप्रै रचनात्मक सामाजिक कामको योजना बनाएकाले प्रदेश सरकारको तर्फबाट पनि यथेष्ट सहयोग गर्ने मन्त्री आङ्बोले आश्वासन दिए ।
सरकारी र निजी क्षेत्र सँगसँगै सहकारी पनि नेपालको प्रगतिमा सहयात्री भएकाले संविधानमा नै सहकारीलाई नेपाली अर्थतन्त्रको एउटा खम्बा स्वीकार गरिएको मन्त्री आङ्बोको भनाई छ ।
‘नेपालको राजनीतिक आन्दोलनलाई थप उचाइमा पुर्याउन सहकारी अभियानको पनि उत्तिकै योगदान गरेको’ जिकिर गर्दै मन्त्री आङ्बोले भने ‘सामन्ती अर्थतन्त्रको समाप्त गर्दै समाजवादी अर्थतन्त्र निर्माण गर्न सहकारीको योगदान अतुलनीय छ ।’
साधारणसभाका प्रमुख अतिथि मन्त्री आङ्बोले ‘सहकारीलाई सही ढंगबाट स्थापित गर्ने हो र यसको मान्यतालाई राज्यले सही उपयोग गर्ने हो भने पक्कै पनि श्रम बेच्न विदेश जाने युवालाई स्वदेशमा नै रोक्न सकिनेछ र समाजमा विद्यामान बेरोजगारी र गरिवीको अन्त्य गर्नका लागि सहकारी अभियान सार्थक साधन बन्नेछ ।’
‘सहकारीले बचत तथा ऋणमा मात्र केन्द्रित हुने होइन, उत्पादनमा जानुपर्छ, रोजगारीको सिर्जना गर्नुपर्छ तथा दिगो विकासको लक्ष्य प्राप्तीका लागि सहकारीको दायित्व छ’ मन्त्री आङ्बोको भनाई छ ।
साधारणसभा उद्घाटन समारोहमा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, झापा जिल्ला सहकारी संघका सञ्चालक कृष्णप्रसाद मिश्र तथा नेपाली कांग्रेसका नेता देउमान थेवेले आफ्ना धारणा राखेका थिए ।
संस्थाका सञ्चालक समितिका सहसचिव ज्ञानुनाथ मैनाली र सञ्चालक सदस्य चित्रकला ओलीले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रितहरुलाई उपाध्यक्ष उपेन्द्र ओलीले शाब्दिक स्वागत गरेका थिए ।
Comments