‘परिश्रम र लगनशीलताले सहाराको पुरस्कार पाएँ’ : टिकादेवी राई
Published:
by .बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यो वर्षको प्रोफेसर डा. मोहम्मद युनुस सहारा लघुवित्त पुरस्कार अर्जुनधारा ९ झापाकी टिकादेवी राईलाई प्रदान गरेको छ । सहारा नेपाल साकोसको २३औं वार्षिक साधारणसभाको अवसरमा शनिबार बिर्तामोडमा संस्थाको लघुवित्ततर्फका सदस्य राईलाई ५१ हजार रुपैयाँ राशिको सो पुरस्कार प्रदान गरिएको हो ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो तथा संस्थाका सञ्चालकहरुले उक्त पुरस्कार टिकादेवी र उनका पति नेत्रबहादुर राईलाई संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।
पुरस्कार ग्रहण गरेपछि राईले आफ्नो परिश्रम र लगनशीलताका कारण सहारा नेपालले पुरस्कारका लागि योग्य ठहर गरेको प्रतिक्रिया दिइन् । साधारण परिवारकी आफूले यति ठूलो सम्मान र पुरस्कार पाउनु ठूलो कुरा रहेको भन्दै पुरस्कृत राईले आफ्नो पेशालाई अझै निरन्तरता दिएर सम्मानलाई खेर जान नदिने बताइन् ।
आफ्नो परिवारमा सुरुका दिनमा हातमुख जोड्न पनि गाह्रो भएका बेला सहाराले सात हजार रुपैयाँ ऋण पत्याएकाले आज जीवन चलाउन पैसा अभाव नभएको अनुभव सुनाइन् । राईले भनिन्, ‘मैले केही जमिन जोड्न सकेँ । घर हेर्न हुने बनाउन सकेँ । दुईतीन जनालाई रोजगारी दिएको छु ।’
सहाराले हरेक वर्ष लघुवित्त कार्यक्रममा उत्कृष्ट हुने सदस्यलाई उक्त पुरस्कारले पुरस्कृत गर्ने गरेको छ । २४ पटकसम्म सहाराबाट कर्जा लिइसकेकी तरकारी उद्यमी राईले अहिले भैंसीपालन, सुंगुरपालन तथा बाख्रापालन पनि थप गरेर कृषि उत्पादनलाई अग्र्यानिक बनाउँदै लगेको बताइन् ।
झापाको शनिश्चरे सेवा केन्द्र अन्तरगत जागृति सहारा महिला समूहमा २०६४ सालदेखि आबद्ध उनी इलाम जिल्लाको जितपुरमा जीवन निर्वाह गर्न कठिन भएपछि आफ्नो थातबास छाडेर २०४८ सालमा सपरिवार तराई पसेकी बताउँछिन् ।
Comments