सिम्रिकको स्वास्थ्य शिविरमा खुदुनाबारी आसपासका ८५१ ले लिए सेवा
Published:
by .अर्जुनधारा । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार अर्जुनधारा नगरपालिका वडा नं. ३ को खुदुनाबारीमा वृहत् स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टर बिराटनगरको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न १४ प्रकारका स्वास्थ्य उपचार सेवा प्रवाह गरिएको थियो ।
स्थानीय न्यू होप इङ्लिस बोर्डिङ सेकेण्डरी स्कूलमा आयोजित स्वास्थ्य शिविरमा जनरल मेडिसिन सेवा, मुटु रोग, बाल रोग, स्त्री तथा प्रसुती रोग, मानसिक तथा नशा रोगका विशेषज्ञहरुले चेक जाँच गरेका थिए ।
यस्तै उक्त शिविरमा हाडजोर्नी, छाला तथा यौन रोग, नाक–कान–घाँटी, आँखा परीक्षण, दन्त परीक्षण, इसिजी सेवा प्रवाह गरिएको अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले जानकारी दिए । शिविरमा भिडियो एक्स रे, प्याथोलोजी, इसिजीलगायत सेवा न्यून शुल्कमा गराइएको दाहालको भनाई छ ।
शिविरमा ८५१ जनाले चेकजाँच गराएका थिए भने करिब ६५ हजार रुपैयाँ बराबरको औषधी पनि सहकारी संस्थाले निःशुल्क वितरण गरेको तालिम विभाग प्रमुख विजय बस्नेतले जानकारी दिए ।
स्वास्थ्य शिविरको उद्घाटन स्थानीय वयोवृद्ध वर्ष ८६ का खगेश्वर खतिवडाको स्वास्थ्य परीक्षण गरेर गरिएको थियो । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा उनले नगरपालिकाले पनि गर्न नसकेका कामहरु सहकारीमार्फत् भइरहेको भन्दै खुशी ब्यक्त गरे ।
उनले भने, ‘नगरपालिकाको दुर्गम भूगोलमा आफूहरुले सेवा प्रवाह गर्न चाहेर पनि सकिरहेका छैनौं तर सहकारी संस्थाहरुले स्थानीय बासिन्दाको आवश्यकतालाई मिहिनढंगले बुझेर सेवा प्रवाह गर्ने गरेको पाउँदा मलाई खुशी लागेको छ ।’
बिराटनगरबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीलाई स्वागत गर्दै नगरप्रमुख रानाले आफ्नो नगरका बासिन्दाले गुणस्तरीय सेवा पाउनेमा आफू ढुक्क भएको बताए ।
संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले संस्थाको परिचयसहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुको औचित्य प्रष्ट्याएका थिए । शिविर उद्घाटन कार्यक्रमको सञ्चालन सचिव सुवास भट्टराईले गरेका थिए ।
Comments