Sajhamanch Archive

विपन्न परिवारका लागि दमक नगरपालिकाले बनायो २३ घरहरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

दमक । दमक नगरपालिकाले विपन्न र भूमिहीन परिवारको बसोबासका लागि घर निर्माण गरेको छ । स्थानीय सरकारले पहिलो चरणमा २३ विपन्न परिवारका लागि घर निर्माण गरेको हो । दमक १ मा नमूना एकीकृत बस्तीको रुपमा एकै प्रकारका घर निर्माण गरिएको हो ।

नगरका सबै भूमिहीन तथा विपन्न परिवारलाई क्रमिकरुपमा बसोबासको व्यवस्था मिलाउने लक्ष्यअनुसार पहिलो चरणमा २३ परिवारका लागि नमूना घरहरु निर्माण गरिएको नगरप्रमुख रोमथान ओलीले जानकारी दिए । घर निर्माण कार्य पूरा भएकाले केही दिनमा नै हस्तान्तरण प्रक्रिया थालिने नगरप्रमुख ओलीले बताए ।

नगरपालिकाको स्वामित्वमा रहेको जमिन व्यवस्थापन गरी घर निर्माण गरिएको हो । भान्सा कोठासहित चारकोठे प्रत्येक घरमा शौचालयको व्यवस्था रहेको नगर उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । ती घरहरुमा बसोबास गर्ने सात परिवारको टुंगो लागिसकेकाले चाँडै घर हस्तान्तरण गरिने उनले बताइन् ।

बस्तीको संरक्षण, सुरक्षा तथा सरसफाइका लागि घर हस्तान्तरण पछि सोही ठाउँमा बसोबास गर्नेको समिति बनाइने र जिम्मेवारी प्रदान गर्ने नगरपालिकाको तयारी छ । झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभामा निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट एक करोड ४० लाख र नगरपालिकाले एक करोड रुपैयाँ खर्चेर ती घर निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

घर निर्माणमा प्रदेश सरकारमार्फत प्राप्त ३१ लाख सशर्त अनुदानको रकमसमेत खर्च गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

नयाँ घरहरुमा नगरपालिकाले विद्युत् तथा खानेपानी उपलव्ध गराउनेछ । तर त्यस वापतको मासिक शुल्क भने घर पाउनेले बुझाउनु पर्ने हुन्छ । विद्युत, खानेपानी तथा सरसफाईको जिम्मेवारी घर पाउने व्यक्तिको हुनेछ भने उनीहरूले सो घरजग्गा बेचबिखन गर्न पाउने छैनन् । घर पाएवापत कुनै पनि शुल्क नगरपालिकालाई तिर्न नपर्नेसमेत नगरपालिकाले जनाएको छ ।

घर पाउने के छ मापदण्ड ?

नगरपालिकाले निर्माण गरेका घरमा बस्न पाउनका लागि नगरपालिकाले केही मापदण्ड पनि बनाएको छ । नगरप्रमुख ओलीका अनुसार सो स्थानमा बसोबासका लागि नगरपालिकाभित्र कम्तीमा १० वर्षदेखि बसोबास गरेको र नेपालमा कहीँ पनि जमिन नभएको परिवार हुनुपर्ने छ ।

नगरपालिकाले उठाएका दमक ७ का सुनचाँदी लाइनमा रहेको नगरपालिकाको जमिनमा बसोबास गरेका परिवारलाई पनि ती घर पाउनेको प्राथमिकतामा राखिएको छ ।

थप निर्माणको तयारी

दमक नगरपालिका वडा नं. ७ मासमेत सुकुम्बासीका लागि थप घर निर्माणका लागि जग्गा व्यवस्थापन शुरु गरेको छ । दमकको वडा नं ७ मा ऐलानी जग्गाको संरक्षण गरी अर्को बस्ती निर्माण गर्न तयारी थालिएको हो । सो वडामा पर्ने गोसलाइनमा रहेको एकै ठाउँको करिब १८ कठ्ठाभन्दा बढी ऐलानी जग्गाको घेराबारा गरेर संरक्षणको काम गरिएको छ ।

वडाध्यक्ष भीमप्रसाद पौडेलले वडा नं. १ मा पर्ने हाल नगपालिकाबाट निर्मित एकीकृत नमूना बस्ती नजिकै सीमामा वडा नं ७ भित्र थप नमूना बस्ती निर्माण गर्ने उद्देश्य रहेको वडाध्यक्ष पौडेलले बताए ।

वडा नम्वर ७ मा रहेको सार्वजनिक जग्गा संरक्षणका लागि स्थानीय तहबाट बजेटको व्यवस्था मिलाएर तारबार लगाउने कार्य भइरहेको अध्यक्ष पौडेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *