बिर्तामोडमा ब्रोइलर कुखुरापालक कृषक संगठित
Published:
by .बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा ब्रोइलर कुखुरापालक कृषकले नगर समिति गठन गरेका छन् ।
विराटज्योति स्कूलमा सम्पन्न नगर भेलाले समिति गठन गरी कृषकहरुले झेल्दै आएका समस्या समाधानका लागि नगरपालिकाले खेल्नुपर्ने भूमिकासहित किसानलाई निश्चित मूल्य निर्धारण गरिदिनु पर्ने लगायतका बारेमा वृहत छलफल भएको हो ।
गरामनीका कृषक सौरभ प्रसाईंको अध्यक्षमा गठित ११ सदस्यीय तदर्थ समितिले ब्रोइलर कुखुराको बजार व्यवस्थापनको लागि नगरपालिकाले उचित भूमिका खेल्नुपर्ने ठहर गरेको छ ।
किसानले कहिलै नाफा पाएका छैनन्, बजारीकरण राम्रो छैन अनि खोरमै कुखुरा मर्छन् छलफलमा सहभागी किसानको गुनासो थियो । अर्कोतर्फ कुखुराको चारो (दाना) र औषधीको मूल्य बढेर किसान सधैं मारमा परिरहेका छन् ।
चारो बेच्ने व्यापारी, डिलर र बिचौलिया सधैं मोटाउने तर किसान सधैं उत्पादनको मूल्य पाउनबाट वञ्चित हुनुपर्ने प्रवृत्ति रोक्न किसान एकजुट हुनुपरेको ब्रोइलर कृषक माइनस प्लस संग्रौलाको भनाई छ ।
सबैलाई नाफा तथा घाटा बराबरी हुनुपर्ने भन्दै कृषक, वितरक, मासु व्यवसायी एकै ठाउँमा भेला भएर निश्चित मूल्य कायम गर्नुपर्छ अनिमात्र कृषकहरुलाई केही उर्जा मिल्नेछ अध्यक्ष प्रसाईंको भनाई छ ।
अबका दिनमा ब्रोइलर कृषक संघको उद्देश्य राष्ट्रियस्तरमा सबै स्थानीय निकायहरुमा समिति गठन गर्ने रहेको जनाइएको छ ।
झापाका सबै स्थानीय तहका कृषकहरुलाई एकजुट गरेर स्थायी मूल्य निर्धारण गर्ने लक्ष्य रहेको नवगठित समितिका अध्यक्ष प्रसाईंले जनाएका छन् ।
Comments