Sajhamanch Archive

पत्रकार तथा साहित्यकार खनालको दूर्घटनामा मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । बिहीबार दिउँसो साढे ३ बजे सवारी दूर्घटनामा परेर उपचारार्थ बी एण्ड सी अस्पताल ल्याइएका झापाका पुराना पत्रकार एवम् साहित्यकार गोपीकृष्ण खनालको मध्यराति निधन भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका २ रामचोकमा साइकलमा यात्रारत उनलाई मेची पहाडी जिल्लाहरुमा चल्ने मे १ ज ६५८ नम्बरको जिपले ठक्कर दिएको थियो ।

रामचोकबाट मोहनमाया मावितर्फ मोडिएको खनाल सवार साइकललाई ट्याक्सीले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटना भए लगत्तै आफन्त र स्थानीयले पूर्णतुङ्ग बिर्तासिटी अस्पताल पुर्याइएकोमा त्यहाँ आवश्यक उपकरण नभएकोले उपचार हुन नसक्ने चिकित्सकले जानकारी गराए पछि बी एण्ड सी अस्पताल ल्याइएको भतिजा भानुभक्त खनालले बताए ।

टाउकामा गम्भीर चोट लागेका उनको शल्यक्रिया गरिए पनि रक्तश्राव नरोकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनको मध्यराति १२ बजे हाराहारी निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

दूर्घटना गराउने चालक र सवारी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

वि. सं. २००४ साल पुष २९ गते तेह्रथुम जिल्लाको खाम्लालुङ गाविस वडा नं. ९, सामथाङमा जन्मिएका खनाल पत्रकारिता र साहित्य साधक थिए । उनका एक श्रीमती र दुई छोराहरु मनोज र रोशन छन् ।

पारिवारिक स्रोतका अनुसार आज बिहान १० बजे खनालको शवलाई मेची अञ्चल अस्पतालमा पोष्टमोर्टम गरिने र १२ बजे कनकाई माईमा दाहसंस्कार गरिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *