Sajhamanch Archive

जनतामा कोरोनाको त्रासमा, व्यापारी कमाइ धन्दामा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा रहेको बुधबारे बजारमा बिहीबार बुद्धशान्ति गाउँपालिकाको नेतृत्वमा बजार अनुगमन भएको छ ।

व्यापारीले व्यापक कालोबजारी गरेको उपभोक्ताको गुनासो आएपछि गाउँपालिकाको नेतृत्वमा झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्ति, उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्ति र इलाका प्रहरी कार्यालय बुधबारेको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

पसलेले ग्यास छैन भन्दै सर्वसाधारणलाई फर्काउने गरे पनि सोही व्यवसायीले बढी मूल्यमा बिक्री गरिरहेको, लुकाएर राखेको अनुगमनका क्रममा पाइएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलले बताइन् ।

जनताको व्यापक गुनासो आएपछि बुधबारेका केही व्यापारीले जनतामा देखिएको कोरोना त्रासले भविष्यमा राम्रो कमाइ गर्न सकिन्छ भनेर ग्यास, खाद्य सामग्री लुकाएको र बढी मूल्यमा बिक्री गरेको पाइएको अनुगमन टोलीले बताएको छ ।

शान्ति किराना पसल लगायतले ग्यास लुकाएको, निर्धारित मूल्यभन्दा बढीमा बिक्री गर्दै आएको तथा मिति गुज्रिएको सामग्री बिक्री गरेको अनुगमनकारीको भनाई छ । यसरी नै लक्ष्मी भाँडा पसल लगायतका केही पसलले बढी मूल्यमा खाना पकाउने ग्यास बिक्री गरेको पाइएको उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्तिका अध्यक्ष धरणी पोखरेलले बताएका छन् ।

ग्यासको कृतिम अभाव सृजना गर्न डिलरले नै ग्यास नदिएको पाइएको झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईले बताए ।

अनुगमनका क्रममा केही व्यापारीले देशमा हुनसक्ने संकटबाट बढी कमाउन सकिन्छ भनेर उपभोग्य सामग्री लुकाएको र कमाउने बहानामा बढी मूल्य असुलेको पाइएको बुद्धशान्ति ६ का वडाध्यक्ष शम्भु पौड्यालले बताए ।

लुगाएर राखिएको ग्यास अनुगमन टोलीकै अगाडि उपभोक्तालाई बाँड्ने काम पनि भएको अनुगमन टोलीले बताएको छ । व्यापारीहरुलाई त्यसो नगर्न सम्झाउने काम पनि भएको उपाध्यक्ष भूर्तेलले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *