Sajhamanch Archive

मेची अस्पतालमा ८ बेडको आइसोलेशन वार्ड तयार तर स्वास्थ्यकर्मी त्रसित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

भद्रपुर । सरकारी स्वामित्वको मेचीकै सबैभन्दा ठूलो मेची अस्पतालमा ८ बेड क्षमताको आइसोलेशन सेवा सञ्चालनको तयारी गरिएपछि अस्पतालमा कार्यरत स्वास्थयकर्मीमा भने त्रास फैलन थालेको छ ।

सरकारको निर्णय अनुसार कम्तीमा ५ बेड क्षमताको आइसोलेशन वार्ड निर्माण गर्न अञ्चल अस्पतालले दायित्व पाएपछि साविकको सर्जिकल वार्डको उत्तरी भागका दुई कक्षलाई व्यवस्थित रूपान्तरण गरी आइसोलेशन कक्ष निर्माण गरिएको हो । आइसोलेशन वार्ड तयार गरिएपछि कोभिड १९ (कोरोना भाइरस) संक्रमित आउने त्रासले अस्पतालका स्वास्थयकर्मीमा नकारात्मक प्रभाव परेको पाइएको हो ।

रोगीबाट बच्नसक्ने उपकरण तथा स्रोत साधनको अभाव रहेको भन्दै स्वास्थ्यकर्मी नै संक्रमण हुने जोखिमको चिन्तामा रहेका हुन् । त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार आइसोलेसन वार्ड नबन्दासम्म अस्पतालमा कोभिड १९ (कोरोना भाइरस) संक्रमित बिरामी आउने सम्भावना थिएन ।

बिरामीलाई सदा झैं उपचार सेवा दिँदा त्रास थिएन तर आइसोलेसन बेड निर्माण भएपछि तनाव बढेको हो । ‘ज्वरो र रूघाखोकी लागेका बिरामी उपचार गर्न अस्पताल आए भने पनि कोरोना संक्रमितको त्रास हुनेरहेछ’ उनी भन्छन् ।

भारतको विहार नाकाबाट नेपाल आवतजावत खुला रहेका कारण पुरानो गलगलिया बजार दक्षिणको गाउँमा दुईजनामा कोरोना संक्रमित भेटिएको हल्लाले भद्रपुरका बासिन्दा त्रसित छन् । दिल्लीबाट आएका चारजना श्रमिकमध्ये दुईजना संक्रमितको उपचार भइरहेको तर संँगै आएका अन्य दुईजना भागेको हल्लाले स्थानीय त त्रसित छन् ।

यस्तो हल्ला र त्रासले अञ्चल अस्पतालका कर्मचारीलाई पनि सताएको हो । स्वास्थ्यकर्मी पनि त्रासमा रहनुपर्ने अवस्था हो भन्ने जिज्ञासामा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुर भारतीय खुल्ला सिमानाले नेपालमा कोरोना फैलने त्रास हुनु स्वाभाविक भएको बताउँछन् ।

यस्तो त्रासलाई रोक्न भारतीय सीमा क्षेत्रबाट निर्वाध आवागमन रोक्न आवश्यक भएको भन्दै मेसु डा. ठाकुर अस्पतालमा कार्यरत स्वास्थ्यमर्कीले नडराई विरामीको सेवा गर्नुपर्ने बताउँछन् । कोरोना बिरामीलाई निको पार्ने औषधी आजसम्म उत्पादन नभए पनि विरामीले अस्पतालमा आएर उपचार सेवा पाउने अधिकारको रक्षाका लागि आइसोलेसन कक्षमा राखेर सेवा दिन चिकित्सकहरु प्रतिबद्ध रहेको डा. ठाकुर प्रष्ट पार्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *