कोरोना सन्त्रासः सचेतनाका लागि गरिए विभिन्न निर्णय र कार्यक्रम
Published:
by .झापा । नोवल कोरोना भाइरस (कोभिड १९) बाट कसैलाई संक्रमित हुन नदिन नेपाल–भारत सिमावर्ती बजार भद्रपुरमा अति आवश्यकीय पसल बाहेक आजदेखि बजार बन्द गरिएको छ । कोरोना संक्रमणको त्रास कम गर्न नेपाल सरकारको निर्देशन अनुसार अतिआवश्यकीय औषधी, खाद्यान्न र सागसब्जीका पसल बाहेक अन्य पसलहरू पूर्णरूपमा बन्द गरिएको हो ।
वडा प्रहरी कार्यालय भद्रपुरका प्रमुख डम्बरबहादुर पुरीका अनुसार नेपाल सरकारको चैत्र ७ को निर्णय अनुसार नेपाल–भारत सिमावर्ती क्षेत्रका बजारमा कोरोना संक्रमण बढी हुने आशंका हुँदा दुवै सरकारले आफ्ना मातहतका बजार बन्द गर्ने सहमति भएअनुसार भद्रपुर बजार बन्द गरिएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दिएको जानकारी अनुसार सरकारको निर्णयलाई सहजीकरण गर्दै उद्योग वाणिज्य संघको पहलमा बजार बन्द भएको हुनसक्छ तर जिल्ला प्रशासनले कुनै पनि बजार बन्द गर्न निर्देशन नदिएको जानकारी दिए ।
यता दमक नगरक्षेत्रका सहकारी संस्थाहरुले आइतबारदेखि आफ्ना बजार प्रतिनिधिहरुलाई बचत संकलन गर्न घरदैलोमा नपठाउने सामुहिक निर्णय गरेका छन् ।
मेची सहकारी संस्थाका सूचना अधिकृत चन्द्र थापाले दिएको जानकारी अनुसार सहकारी संस्थाहरुले सेवा प्रवाहलाई निरन्तरता दिने भए पनि बचत संकलन गर्न कुनै पनि संस्थाका बजार प्रतिनिधिहरु घर–पसल–अफिसमा रकम संकलन गर्न जाने छैनन् ।
बजार प्रतिनिधिहरुले सयौं मानिसहरुसँग भेटेर कारोबार गर्नुपर्ने भएकाले कोभिड १९ को त्रास रहुञ्जेल उनीहरु बजार नजाने सामुहिक निर्णय भएको हो ।
यसैगरी जिल्ला सहकारी संघ झापाले पनि आज विज्ञप्ती जारी गर्दै पूर्ण सचेतता अपनाएर सहकारीहरुले सेवा प्रवाह गर्नुपर्ने औंल्याएको छ । जिल्ला संघका अध्यक्ष गणेश ढकालले हस्ताक्षर गरी जारी गरिएको कोभिड १९ बारेको सचेतनासहितको विज्ञप्तीमा संघ–संस्थाहरुले विभिन्न साधनहरुको प्रयोग गरी कोरोना भाइरस बारे सचेतना अपनाउन आग्रह गरिएको छ ।
यसैबीच शनिबार मध्यरातबाट भारत सरकारले सिमा बन्द गर्ने घोषणा गरेसँगै सिमावर्ती क्षेत्रमा रहेको नेपालीहरू नेपालतर्फ फर्कने र भारतीय भारततिर जाने क्रम बढेको छ । दुवै देशका सिमा सुरक्षा बलले आ–आफ्नो देश फर्कने नागरिकलाई अवरोध गरेका छैनन् तर एक देशबाट अर्को देश जान चाहने नागरिकलाई शनिबार बिहान देखिनै रोकिएको थियो ।
यता भद्रपुर ९ स्थित प्रज्ञा एकाडेमीले सामाजिक उत्तरदायित्व अन्र्तगत झापाको सदरमुकाम चन्द्रगढी क्षेत्रमा १५०० मास्क निःशुल्क वितरण गरेको छ ।
भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा चन्द्रगढी बजार क्षेत्रमा कोरोना रोग संक्रमण सचेतना अन्तर्गत मास्क वितरण गरिएको हो । प्रज्ञा एकाडेमी बाल क्लबको संयोजन तथा विद्यालय प्रशासनको लगानीमा जन उत्तरदायी भूमिका स्वरुप मास्क वितरण गरिएको जनाइएको छ ।
सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल इसुभ पाण्डे, नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेल, प्रज्ञा एकाडेमी इन्ट्राक्टका अध्यक्ष अभि पाण्डे लगायतको सहभागिता रहेको थियो । मास्क प्राप्त गर्ने सर्वसाधारणहरूले निजी विद्यालयले व्यपारमात्र नगरेर सेवा पनि गर्नुपर्ने भन्दै खुशी व्यक्त गरेका थिए ।
Comments