Sajhamanch Archive

मेचीनगरमा विदेशबाट फर्किएका र ज्येष्ठ नागरिकको तथ्याङ्क संकलन शुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । भारतलगायत अन्य मुलुकबाट फर्किएकाहरुमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला पर्न थालेपछि मेचीनगर नगरपालिकाले विदेशबाट नेपाल आउनेको तथ्याङ्क संकलन शुरु गरेको छ ।

नेपालमा हालसम्म ५ जनामा कोभिड १९ को संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु सबै विदेशबाट नेपाल फर्किएकाहरु हुन् । यही कारण मेचीनगर नगरपालिकाले विदेशबाट आइ मेचीनगरको भूगोलमा बसोबास गर्नेहरुको तथ्याङ्क संकलन शुरु गर्न लागेको सामाजिक शाखा प्रमुख अनन्तप्रकाश वस्तीले बताएका छन् ।

२०७६ फागुन २२ यतादेखि मेचीनगर नगरपालिकाभित्र अहिलेसम्म भारतलगायत तेस्रो मुलुकबाट १६४ जना फर्किएका छन् । वस्तीका अनुसार सबैभन्दा बढी भारतबाट १२३ जना, युएइबाट १९, कतारबाट ७, साउदी अरबाट ६, मलेसियाबाट ४, अमेरिकाबाट २ जना तथा इजरायल, वहराइन र कतारबाट १–१ जना आएको तथ्याङ्क संकलन भएको छ ।

उनीहरुमध्ये केहीलाई व्यवस्थितरुपमा होम क्वारेन्टाइनमा, केहीलाई मेचीनगर नगरपालिका वडानम्बर ७ को सतिघट्टास्थित माइती नेपालको भवन, ११ को घाइजनस्थित स्वास्थ्य चौकी, वडानम्बर ३ को वडाखालस्थित पशुपति माध्यमिक विद्यालय र वडानम्बर ४ को बाहुनडाँगीस्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कोरोनाको संक्रमण फैलिन नदिन र यसको नियन्त्रणमा हरेक नगरबासीको अहम् भूमिका हुने भएकाले आफ्नो गाउँटोल, छरछिमेकमा अन्य मुलुकबाट आएर बसेका भए आफ्ना वडाका जनप्रतिनिधि, टोल विकास संस्था, सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह गरिएको नगरप्रमुख विमल आचार्यले बताएका छन् । उनले नगरका १५ वटै वडाका ७० वर्ष माथिका ज्येष्ठ नागरिकको विवरणसमेत संकलन कार्य शुरु भएको जनाएका छन् ।

 

विदेशबाट फर्किएकाको घरमा रातो रंग

मेचीनगर क्षेत्रमा भारतलगायत तेस्रो मुलुकबाट फर्किएकाहरुको पहिचानका लागि उनीहरुको घरमा अब रातो रंगको संकेत गरिने भएको छ । जुन घरमा नगरपालिकाले रातो रंग लगाउँछ, त्यो घरको कुनै न कुनै सदस्य भरखरै भारत वा कुनै तेस्रो मुलुकबाट फर्किएको छ ।

रातो रंग लगाए पछि होम क्वारेन्टाइनको अनुगमन र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गर्न सजिलो होस् भनेर यो अभियान शुरु गरिएको उपप्रमुख मीना पोखरेल उप्रेतीले जनाएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *