कोभिड–१९ को विपद्का बेला सहकारीहरु थप सम्वेदनशील बन्नुपर्ने मन्त्री अर्यालको सुझाव
Published:
by .काठमाडौं । विश्वब्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल एक सातादेखि लकडाउनको अवस्थामा छ । यसै सन्दर्भमा कोभिड–१९ को संक्रमणबाट मानव जीवन रक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माखकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग छलफल गरेकी छन् ।
राष्ट्रब्यापी रुपमा मजबुत नेटवर्क भएको सहकारी संस्थाका विषयगत केन्द्रीय संघका अध्यक्षहरुसँग आज काठमाडौंमा छलफल गर्दै मन्त्री अर्यालले राष्ट्रियरुपमा आएको संकटमा सहकारीलाई अधिकतम उपयोग गर्न भनेकी छन् ।
मन्त्री अर्यालले सहकारी संस्थाद्वारा सञ्चालित सहकारी स्वास्थ्य अस्पतालहरुको अधिकतम परिचालन गर्न, सहकारी स्वास्थ्य संस्थाहरुबाट चलाइएको एम्बुलेन्सहरु बिरामीको ओसारपसारमा परिचालन गर्न सुझाव दिएकी छन् ।
त्यस्तै मन्त्री अर्यालले स्थानीय प्रशासनसँग समन्वय गर्दै सहकारी बैंक, सहकारी संस्थाहरुले आंशिक रुपमा खोलेर जीविकोपार्जन, औषधोपचार जस्ता सेवाहरु प्रवाह गर्न सकिने बताएकी छन् । आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखेर आफू पनि बचेर शेयर सदस्यहरुलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन समेत मन्त्री अर्यालको सुझाव छ ।
सो अवसरमा ६४औं राष्ट्रिय सहकारी दिवस कसरी मनाउने सन्दर्भमा पनि छलफल भएको थियो । बैठकले राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा दिवस मनाउनका लागि व्यवस्थापन समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा परितोष पौडेल, खेम पाठक, केबी उप्रेती, सुरेन्द्र भण्डारी, नारायण देवकोटा, ज्ञानबहादुर तामाङ, माधव दुलाल, केदार खड्का रहेका छन् ।
Comments