लकडाउनको पूर्ण पालना गर्ने कमल गाउँपालिकाबासीको प्रतिवद्धता
Published:
by .कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणको एकमात्र उपाय लकडाउनलाई पूर्णरुपमा पालना गर्नु हो भनी कमल गाउँपालिकामा आयोजित सर्वपक्षीय भेलाले निश्कर्ष निकालेको छ ।
सरकारले लकडाउनको समय बढाएर आगामी २०७७ साल वैशाख ३ गतेसम्म पुर्याएपछि त्यसलाई पूर्णरुपमा कसरी कार्यान्वयन गर्ने सकिन्छ भनी गाउँपालिकाले आज सर्वपक्षीय भेला बोलाएको थियो । भेलामा लकडाउनका समयमा विपन्न वर्ग तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदूरलाई वितरण गरिएको राहतलाई आगामी दिनमा अझ व्यवस्थितरुपमा वितरण गर्न के गर्नुपर्छ भनी छलफल गरिएको छ ।
कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेका अध्यक्षतामा इलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्णप्रसाद आचार्य, नेकपा गाउँकमिटी अध्यक्ष भिमप्रसाद राई, नेपाली कांग्रेस गाउँ सभापति खगेन भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गाउँसमिती अध्यक्ष सूर्यप्रसाद लिम्बू, राप्रपा गाउँ समिति अध्यक्ष विष्णुप्रसाद पौडेल, समाजवादी पार्टीका अध्यक्ष प्रेमकुमार कुलुङ्ग लगायतले आफ्ना राय सुझाव दिएका थिए ।
सो वैठकमा लकडाउन सुरु भएपछि अहिलेसम्म गाउँपालिकाले गरेका गतिविधिका बारेमा उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी गराएका थिए । यस्तै, सातैजना वडाध्यक्षले आ–आफ्नो वडामा भएका कामको विवरण प्रस्तुत गरेका थिए ।
यसैबीच, गाउँपालिकाले कोरोना रोकथाम तथा विपन्नलाई सहयोग गर्न स्थापित कोषमा २८ लाख १८ हजार ९१२ रुपैयाँ जम्मा भएको जनाइएको छ । उक्त कोषमा गाउँपलिकाले छुट्याएको १० लाख, जनप्रतिनिधिबाट ४ लाख १६ हजार, कर्मचारी (स्वस्थ्य र सरसफाई) बाहेक १ लाख ५२ हजार ७७२ रुपैयाँ जम्मा भएको छ ।
यस्तै, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र अन्य निजी विद्यालयहरुबाट १ लाख ६० हजार ५००, एन प्याब्सनबाट ५५ हजार, समाुदायिक विद्यालय ३ लाख ५१ हजार ९००, सहकारी संस्थाबाट ३ लाख ३६ हजार २५५, संघ–सस्थाबाट २ लाख ६९ हजार ७११, विभिन्न व्यक्तिबाट ७६ हजार ७७० रुपैयाँ जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए ।
उनका अनुसार प्रथम चरणको राहत वितरण र क्वारेन्टाइन व्यवस्थापनमा १७ लाख ६० हजार ८१५ रुपैयाँ खर्च भएको छ ।
Comments