Sajhamanch Archive

सिंचाईमा सौर्य उर्जाको प्रयोगले दक्षिणी झापा हराभरा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, by .

झापा । व्यवसायिक कृषिमा सौर्य उर्जा प्रविधि लाभदायक सावित भएको छ । ग्रामीण क्षेत्रमा जल विद्युतको उपलब्धता कम भएर सिंचाई कार्यमा समस्या झेलिरहेका किसानका लागि सौर्य उर्जा लाभदायक सावित भएको हो । यो प्रविधि आएयता दक्षिणी झापाका अधिकांश जमिनमा हरियाली छाएको छ । वर्षामा भर परेर एकबाली मात्र लाग्ने यहाँका अधिकांश जमिनमा सौर्य सिंचाई प्रयोगमा आएयता वर्षैभर खेतीबाली लाग्न थालेको देखिन्छ ।

कामको खोजीमा हिड्नेहरू अरूलाई काम दिने अवस्थामा रूपान्तरण भइसकेका छन् । जमिन हुनेहरू आफ्नै जमिनमा र नहुनेहरू भाडाको जमिनमा व्यवसायिक खेती गरेर जीवनस्तर उकास्न थालेका छन् । विद्युत सेवा खेतबारीको कुना कुनसम्म पुर्याउन असम्भव देखिएपछि व्यवसायिक कृषिमा सौर्य उर्जा सिंचाई प्रविधिको अवधारण ल्याइएको हो । यो कार्य दक्षिणी झापामा रहेको धान सुपरजोनबाट शुरु गरिएको हो । यस प्रविधिको प्रवेशसितै कृषिमा भविष्य खोज्ने किसानहरूको संख्या पनि बढ्दै गएको छ । जसले दक्षिणी झापाको उर्वर माटोलाई आम्दानीको मुहान बनाएर हरियालीसमेत छाइरहेको छ ।

 कृषि क्षेत्रमा यान्त्रिकीकरण तथा व्यवसायिक वातावरणका लागि कार्य गर्दै आएको धान सुपर जोन बनियानीले ४ वर्ष अगाडि सिंचाइमा नयाँ प्रविधिका रूपमा भित्राएको सौर्य उर्जा प्रविधि झापाका अधिकांश ग्रामीण कृषि क्षेत्रमा विस्तार भइसकेको छ । सुपर जोनले सिंचाइमा लागत कम गराई भूमिगत पानी तान्न आधुनिक सौर्यउर्जा प्रविधि सुरुवात गरेको हो । सो पछि विद्युत अभावमा सिंचाइ नभएका जमिन वर्षैभरी खेती लगाउन सकिने गरी रूपान्तरण भएका छन् ।

ग्रामीण कृषि क्षेत्रमा विद्युतीकरण विस्तारमा लागत तथा समय बढी लाग्ने देखिएपछि सुपर जोनले स्थीर विद्युतीकरण र दीर्घकालिन लागत घटाउने प्रविधि सौर्य उर्जालाई कृषकका खेतवारीमा ४ वर्ष अगाडिबाट ल्याएको थियो । यो प्रविधिका लागि ५ लाख प्रतिबोरिङ खर्च हुने गरेको छ । सुपर जोनले कम्तीमा २ बाली व्यवसायिक खेती गर्ने कृषक समूह वा कृषि सहकारीलाई छनौट गरी लागतको ८५ प्रतिशतसम्म अनुदान दिनेगरी यस प्रविधिलाई कृषक समक्ष ल्याएको थियो ।

सुपर जोन सञ्चालक समितिमा आबद्ध कृषकका अनुसार कृषिलाई प्रतिष्पर्धी व्यवसायका रूपमा विस्तार गर्न यान्त्रिकीकरणमा कृषकको पहुँच कार्यक्रमका रूपमा सौर्य बोरिङ ल्याइएको हो । उनीहरूका अनुसार व्यवसायिक कृषि कार्यमा सहभागी रहेका कृषकहरूका समूह मार्फत सुपर जोनले ८५ प्रतिशत लागत रकम व्यहोर्ने तथा १५ प्रतिशत सम्बन्धित किसानले लिने गरी छनौट प्रकृया मार्फत सौर्य पम्प वितरण गर्ने गरिन्छ ।

धान उत्पमदनमा नेपाललाई आफैँ आत्मनिर्भर बनाउन सरकारले झापाको बनियानीमा धान सुपर जोन परियोजना सञ्चालन गरिरहेको छ । परियोजनाले कृषिमा यान्त्रिकीकरणका लागि विभिन्न नयाँ नयाँ प्रविधि ल्याएर व्यवसायिक कृषिको उत्थानका कामहरू गरिरहेको छ । परियोजना आएयता दक्षिणी झापामा धान, मकै आलुलगायत उत्पादन बढे पनि सरकारले बजारीकरणमा ध्यान नदिँदा लागत अनुपातमा मूल्य पाउन नसकेको गुनासो कृषकको छ । छिमेकी देश भारतको तुलनामा नेपालमा मल, बिऊ र श्रमिकको क्षेत्रमा लागत बढी भएका कारण यहाँ उत्पादित अन्न तथा तरकारीजन्य उत्पादन भारतको तुलनामा महंगो पर्ने हुँदा सिमाना पारीबाट निर्वाध आउने खाद्यान्न रोक्न नसकेसम्म नेपाली किसानको उत्पादनले उचित मूल्य नपाउने कृषकहरू बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *