Sajhamanch Archive

कोरोना भाइरसबाट विदेशमा ४९ नेपालीको निधन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वभरमा ४९ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार बेलायतमा ३३ जना, अमेरिकामा १० जना, सयुक्त अरब इमिरेट्स (यूएई)मा दुईजना नेपालीको ज्यान गएको छ। आयरल्यान्ड, जापान, टर्की र नेदरल्यान्डमा एक–एकजना नेपालीको ज्यान गएको छ।

गैरआवासीय नेपाली संघका अनुसार विभिन्न देशमा एक हजार ९८२ नेपालीमा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये अमेरिकामा मात्रै एक हजारजना नेपालीमा कोरोना संक्रमण संक्रमण देखिएको छ।

बेलायतमा ७००, यूएईमा ८१, बहराइनमा ४९, कुवेतमा ४२, पोर्चुगलमा २७, आयरल्यान्डमा २२, स्पेनमा १२ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै अस्ट्रेलियामा ११, स्विट्जरल्यान्डमा ५, बेल्जियममा ६, साउदी अरबमा ४, जर्मनीमा ४ जना संक्रमित भएका छन् ।

मलेसिया, क्यानडा, न्युजिल्यान्ड र साइप्रसमा ३–३ जनामा कोरोना संक्रमण देखिएको छ। जापान, हङकङ, माल्टामा २÷२ र फ्रान्समा एक जनामा कोरोना संक्रमण देखिएको संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताएका छन् ।

विश्वभर रहेका नेपाली विज्ञ चिकित्सकको टोलीले तयार पारेको तथ्यांकअनुसार २४ देशमा नेपालीमा कोरोना संक्रमण भएको छ । कोरोनाको संक्रमणबाट मुक्त भएर ४३४ जना नेपाली घर फर्किएको सापकोटाले बताए।

समितिले विभिन्न अस्पतालमा कार्यरत ३६ जना चिकित्सक, नेपाली कूटनीतिक नियोग, संघका देशका पदाधिकारी र स्थानीय संघ संस्थाका पदाधिकारीद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ। संघले हरेक आइतबार सूचना सार्वजनिक गर्ने गरेको छ।

संघका उपाध्यक्ष बद्री केसीका अनुसार संघले कोरोना व्यवस्थापन समिति र त्यसअन्तर्गत स्वास्थ्य उपसमिति बनाएर कोरोनाबारे सूचना व्यवस्थापनका साथै सम्बन्धित निकायसँग समन्वय गर्दै आएको छ। २१० देशमा कोरोना भाइरस संक्रमण देखिएको छ। ११० देशमा नेपालीको बसोबास छ। सबै देशमा कूटनीतिक नियोग छैनन्। गैरआवासीय नेपाली संघका ८३ देशमा राष्ट्रिय समन्वय समिति क्रियाशील छन्। कतिपय व्यक्ति खुल्न नचाहने भएकाले पनि कुन देशमा कति नेपालीमा कोरोनाको संक्रमण देखिएको छ भन्ने यकिन तथ्यांक भने प्राप्त हुन सकेको छैन।

नेपालीको बसोबास मलेसिया र खाडी मुलुकमा धेरै छ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया तथा खाडी मुलुकमा १८ लाख श्रमिक कार्यरत छन्। वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी वैदेशिक रोजगारीमा पुगेका छन्।

गैरआवासीय नेपाली संघका अनुसार विदेशमा कार्यरत ३० हजार नेपालीले संघको पहलबाट राहत पाएको बताइएको छ। संघका उपाध्यक्ष केसीले सरकारसँग सहकार्य गरेर वैदेशिक रोजगार कोष प्रभावकारी बनाउन चाहेको बताए। संघले सहकार्यका लागि कायविधि बनाएर आफ्नो अवधारणा सरकारलाई बुझाइसकेको छ।

गैरआवासीय नेपाली संघले २४ घन्टे हटलाइन सेवा सुरु गरेर विभिन्न देशबाट सूचना संकलन गर्दै जनाएको छ। संघले मध्यपूर्वका देशमा समिति बनाएर त्यहाँको सरकार तथा सामाजिक संस्थासँग सहकार्य गरि कोरोनाविरुद्ध काम गरिरहेको जनाएको छ।

कतार सरकार र यूएई प्रहरीसँग मिलेर राहत र उद्दारको काम गरिरहेको जनाएको छ। संघले चीनबाट कोरोना संक्रमण सुरु हुनासाथ अध्यक्ष कुमार पन्तको नेतृत्वमा कोरोना उच्चस्तरीय समिति गठन गरेको थियो।

श्रमविज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारीमा रहेका कामदारबारे सरकारले चासो नदिनु दुःखद् भएको बताए। दूतावास नै सक्रिय भएर कामदारको वर्गीकरण गरी प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने उनले बताए।

अन्नपूर्ण पोष्टबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *