ताप्लेजुङ आगलागीः ७ घर र ५ घुम्ती पसल जलेर ध्वस्त (नामावली सहित)
Published: (Updated: )
by .फुङलिङ (ताप्लेजुङ) । हिजो शुक्रबार राति जिल्ला सदरमुकाम फुङ्लिङ बजारमा भएको आगलागीबाट ७ वटा घर र ५ वटा घुम्ती पसल जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आज शनिबार बिहान दिएको जानकारी अनुसार फुङलिङ नगरपालिका ५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका ७ वटा घर र ५ वटा घुम्ती पसल आगलागीबाट ध्वस्त भएका छन् ।
शुक्रबार राति साढे १० बजे फुङलिङ बजारमा रहेको भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगो के कारणले सुरु भएको हालसम्म खुलेको छैन ।
देवी भट्टराईको घरमा संचालनमा रहेको भट्टराई होटल एण्ड लजबाट आगलागी हुँदा दायाँ बाँयाका घर र घरमा भएका पसल र होटल पनि जलेका हुन् । आगो आज बिहान ५ बजे मात्रै पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीको भनाई छ ।
मानवीय क्षति भए नभएको पहिचान भइनसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । ‘घरमा रहेका ग्यास सिलिन्डरहरु पड्किएका कारण आगालागी नियन्त्रण गर्न निकै हम्मे परेका थियो, मानवीय र भौतिक क्षति कति भयो भन्ने बारेमा खोजी भैरहेको निरौलाले बताए ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । अहिले क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट नेत्र कार्की, खेम केसी, खड्ग थापा, चन्द्रमाया लोछार, राम साह, प्रेम निरौला र देवी भट्टराईको घर जलेको प्रहरीले जनाएको छ ।
यसरी नै बिनिता बिस्टको घुम्ती चिया पसल, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल, बिशाल काउण्टरको घुम्ती, सुपर साईनो काउण्टरको घुम्ती र बुद्दशान्ती काउण्टरको घुम्ती जलेका छन् ।
(विनोद न्यौपानेको फेसवुकबाटआगलागी क्षेत्रको शनिबार विहान लिइएका केही तस्वीरहरु)
Comments