चैतको तलब भुक्तानी नगर्ने विद्यालय सञ्चालकलाई ‘इस्टु’ भद्रपुरको चेतावनी
Published: (Updated: )
by .भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन ‘इस्टु’ भद्रपुर नगर समितिले भद्रपुर नगर क्षेत्रका अधिकांश संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको काम गरिसकेको समयको तलब नदिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियन नगर समितिको आकस्मिक बैठकले शैक्षिक वर्ष २०७६ सालको चैत्र महिनाको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले अन्याय गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको ठहर गरेको हो । वर्षभर काम गरेका शिक्षक कर्मचारीलाई संरक्षण गर्नुपर्ने दायित्व भएका विद्यालय सञ्चालकहरूले काम गरेको समयको पारिश्रमिक रोकेपछि युनियनले चासो र चिन्ता व्यक्त गरेको हो ।
नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थागत विद्यालयमा काम गरेर जीविका चलाइरहेका शिक्षक तथा कर्मचारीहरूले काम गरेको समयको तलब भत्ता रोकेर विद्यालय सञ्चालकले वौद्धिक श्रमिकको बाँच्न पाउने अधिकारमाथि नै हस्तक्षेप गरेको ठहरसमेत गरेको छ ।
वर्षभर विद्यालयको उन्नति प्रगतिका लागि परिश्रम गर्ने शिक्षक कर्मचारीलाई बन्दाबन्दीको बाहना देखाएर दिनुपर्ने पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले सडकमा माग्ने अवस्थामा पुर्याएको प्रति खेदसमेत प्रकट गरिएको छ । विद्यालयको वार्षिक परीक्षा सञ्चालन गर्दा चैत पहिलो हप्ता भित्रै अधिकांश अभिभावकहरूले वार्षिक शुल्कसमेत तिरिसकेको भए पनि पैसा नउठेको बाहना बनाएर तलव दिन आनकानी गर्ने कार्य नैतिकरूपमा पनि पतनोन्मुख घटना भनी विज्ञप्तीमा आपत्ति जनाइएको छ ।
बैठकमा सहभागीहरुले आफ्ना धारणा राख्दै भोकमरीमा परिसकेका शिक्षक कर्मचारीको पाउनुपर्ने पारिश्रमिक अविलम्ब भुक्तानी गर्नुपर्ने माग राखेका छन् । बैठकमा संस्थागत विद्यालयको शैक्षिक उन्नयनमा अहोरात्र खटिने शिक्षक कर्मचारीको दैनिक गुजाराको आधार विद्यालय भएको वास्तविकता बुझेर सञ्चालकहरूले नाफा घाटाको नजरबाट नहेर्नसमेत आग्रह गरिएको छ ।
यता संस्थागत विद्यालय सञ्चालकहरूको साझा संस्था प्याब्सन भद्रपुर नगर अध्यक्ष डिल्ली दुलाल भने काम गरिसकेको समयको पारिश्रमिक रोक्नु नहुने भन्दै शिक्षक कर्मचारीको दैनिक गुजारा चलाउन परेको समस्या हलका लागि विद्यालय सञ्चालक जिम्मेवार रहनुपर्ने बताउँछन् ।
संस्थागत विद्यालय शिक्षक युनियन प्रदेश १ का सहसचिव राजु बरालले बितेको शैक्षिक वर्षको अधिकांश शुल्क उठाइसकेका संस्थागत विद्यालयका सञ्चालकहरूले अटेर गरेर शिक्षक कर्मचारीको पारिश्रमिक रोक्नु कानूनी अपराध भएकोले श्रम अदालतको ढोका ढकढकाउनु पर्ने अवस्था आएको जिकिर गरेका छन् ।
भद्रपुर नगर क्षेत्रमा ३३ वटा संस्थागत विद्यालय रहेकोमा तीनवटा विद्यालयले मात्र चैत महिनासम्मको पूरै पारिश्रमिक भुक्तानी गरेका छन् । दुईवटाले आधा पारिश्रमिक दिएर झारोटार्ने काम गरेको पाइएको छ । पूरा पारिश्रमिक दिने विद्यालयमा एमरल्ड एकाडमी, गुरूकूल पब्लिक स्कुल र डोल्मा मेमोरियल रहेका छन् भने आधा पारिश्रमिक मात्र दिने विद्यालयमा विभूति विद्या मन्दिर र इष्टपोइन्ट अंग्रजी माध्यमिक विद्यालय रहेको त्यहाँ कार्यरत शिक्षक कर्मचारीले जानकारी दिएका छन् ।
बैठकमा वैशाख महिनासमेत सकिन लाग्दा चैत्र महिनाकै पारिश्रमिक दिन आनकानी गर्ने विद्यालयहरूलाई अविलम्ब तलब भत्ता भुक्तानी गरेर शिक्षक कर्मचारीको निभ्न लागेको चुल्हो बल्ने वातावरण निर्माण गरिदिन विद्यालय सञ्चालकहरूसित विज्ञप्तीमा अनुरोध गरिएको छ ।
Comments