Sajhamanch Archive

सहकारीको कारोबारमा पुनः संरचना आवश्यक भएको अभियानकर्मीको ठहर

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

झापा । विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको सन्त्रास र रोकथाम प्रयास स्वरुप सरकारले गरेको ‘लकडाउन’का कारण सहकारी संस्थाहरु पनि नराम्ररी प्रभावित भएका सरोकारवालाहरुले निश्कर्ष निकालेका छन् ।

झापा जिल्ला सहकारी संघले हिजो शनिबार दमकमा र आज बिर्तामोडमा आयोजना गरेको ‘कोभिड–१९ले सहकारी क्षेत्रमा पारेको असर र समाधानका उपायहरु’ विषयक अन्तरसम्वादमा सहभागीहरुले यस्तो निश्कर्ष निकालेका हुन् ।

अन्तरसम्वादमा सहकारीका सदस्य ‘सोह्र श्राद्धको बाहुन’ जस्तो हुनु जटिल समस्या भएको झापाको सहकारी नेतृत्वको ठहरलाई सहभागीले समेत सही ठहर्याएका छन् । कार्यक्रमका सहभागीले होडबाजीमा पैसा कमाउने रोग सहकारीमा हाबी हुँदा समस्या रहेको बताएका थिए ।

सहकारीले सहकारी कर्म नगरी व्यापार गर्दा सहकारी अभियानमा नै समस्या सिर्जना भएको उनीहरुको तर्क छ । कार्यक्रममा छोटेराजाको दम्भले अब सहकारी नचल्ने दाबी गरियो । कार्यक्रममा तथ्यगत हिसाब गर्ने हो भने सबै सहकारी अहिले नै घाटामा पुगेको आँकलन समेत सहभागी माझ राखियो ।

अन्तरसम्वाद कार्यक्रममा संघका अध्यक्ष गणेश ढकाल, सचिव युवराज ढकाल, सहसचिव भवानीप्रसाद दङ्गालले फरक फरक विषयको स्लाइड प्रस्तुत गर्दै सहजीकरण गरेका थिए । मूल विषयमा सहसचिव दंगालले सहजीकरण गरेका थिए भने सहकारी राहत ब्यवस्थापन तथा सञ्चालन कार्यविधि र आकस्मिक बचत तथा आपतकालीन कर्जा कार्यविधिका विषयमा अध्यक्ष र सचिवले स्लाइड प्रस्तुत गरी छलफल चलाएका थिए ।

सहभागीले नेतृत्वसँग अब कसरी अघि बढ्ने र संघको रणनीति के छ भनेर जिज्ञासा राखेका थिए । नेतृत्वले अन्तर सहकारी कारोबार, संस्था एकीकरण, तरलता ब्यवस्थापनका जोड, कर्जा लगानीमा सिमितता, सेवा सुविधामा कटौती लगायतको कार्यक्रम द्रुत गतिमा अघि बढाउनुको बिकल्प नभएको धारणा राखेको थियो ।

कोरोना संक्रमणको बेला स्थानीय तह र जिल्ला राहत कोषमा सहकारीको तर्फबाटमात्र झापामा २ करोड ५० लाख रहत स्वरुप उपलब्ध गराइएको तथ्याङ्क रहेको जनाइयो । अन्तर संवादमा कोरोना प्रकोप व्यवस्थापन कार्यदल बनाइएको छ । कार्यदलमा टिएस प्रधान, कृष्ण पौडेल, कृष्ण मिश्र, सन्तोषकुमार श्रेष्ठ, लीलानाथ रेग्मी रहेका छन् । कार्यदलको नेतृत्व जिल्ला संघले गर्ने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *