विपक्षीसँग सल्लाह नगरी वडाध्यक्षले काम गरेको कांग्रेसको आरोप
Published:
by .भद्रपुर । भद्रपुर ६ नम्बर वडाध्यक्षले वडा कार्यालयमा सञ्चालन गर्ने कार्य सम्पादन अपारदर्शी भएको भन्दै नेपाली काँग्रेस भद्रपुर ६ नम्बर वडा समितिले ज्ञापनपत्र बुझाएको छ ।
कोरोना संक्रमणको युद्धमा वडाभित्र रहेका सवै दल, सहयोगी हात र वडाका जनप्रतिनिधिलाई विश्वासमा लिएर काम गर्नुपर्ने वडाध्यक्षले बहुमतको बलमा मनोमानी गरेको आरोप लगाउँदै वडा काँग्रेसले कार्यशैली सच्याउन माग राखी ज्ञापनपत्र बुझाएको हो ।
नगरप्रमुख जीवनकुमार श्रेष्ठ तथा वडाध्यक्ष प्रेमबहादुर बरूवाललाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ— वडाध्यक्षले केन्द्रीय सरकारको पदचापलाई नै पछ्याउँदै आएका छन् । मूलतः उनको शुरुदेखिको अपारदर्शीतालाई बढावा दिने विधि प्रक्रिया र स्थापित मापदण्ड विपरितको काम गर्ने शैलीले हामीलाई गम्भीर बनाएको छ ।
हाम्रो पार्टीबाट उम्मेदवार भइ निर्वाचित भएका वडा सदस्यहरुलाई वडाबाट सम्पादन हुने महत्वपूर्ण विषयहरूमा कुनै जानकारी नगराई छलफलमा सहभागी नगराई वडाको नेतृत्वबाट एकलौटी ढंगले निर्णय गरी काम गर्ने गरेको तथ्यको बारेमा हामी पूर्ण जानकारछौं । वडाको बजेटबाट वितरण हुने बाख्रापालन, गोठ सुधारजस्ता विभिन्न शीर्षकको रकम वितरण गर्दा संस्थागत निर्णय प्रक्रियालाई लत्याइएको छ । कुनै अपवित्र स्वार्थको बसमा परेर नै यस्ता अपारदर्शी क्रियाकलाप सम्पादन हुन जाने कुरामा दुई मत हुनसक्दैन ।
अहिले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्दै भोकमरीका विरुद्ध वडा बाहिरको शक्तिको समेत सहयोग लिंदै वडाध्यक्षले वडाको सम्पूर्ण शक्ति र स्रोतको बुद्धिमतापूर्ण प्रयोग गर्नुपर्ने हो । तर, यस्तो समयमा समेत निहित स्वार्थबाट प्रेरित क्रियाकलापलाई निरन्तरता प्रदान गरेको वडाध्यक्षको भूमिकाले हामीलाई चिन्तित र बढी गम्भीर बनाएको छ ।
ज्ञापनपत्रमा नेपाली कांग्रेसको तर्फबाट गत स्थनीय तह निर्वाचनमा वडाध्यक्षको उम्मेदवार रहेका रतिया राजवंशी र पार्टीका वडा सभापति सुशान्त रायमाझीले हस्ताक्षर गरी वडा कार्यालय र भद्रपुर नगरपालिकाका नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
Comments