टमाटरको अवस्था बुझन् कृषकको बारीमा जनप्रतिनिधि
Published:
by .पाँचथर । जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका जनप्रतिनिधिसहितको टोलीले कृषकको बारीमा पुगेर टमाटरको अनुगमन गरेका छन् ।
एक महिना पहिलेदेखि टमाटर बिक्री नहुँदा कृषकको उत्पादन बारी र सडकमै कुहिएर गइरहेको गुनासो बढेपछि वास्तविकता बुझ्न टोली कृषकको बारी मै पुगेको हो ।
केही दिन अघि किसानले टमाटर सडकमा पोखेर सांकेतिक आन्दोलन गरेपछि जनप्रतिनिधि किसानको बारीमा पुग्ने बाध्यता थपिएको हो । याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङ नेतृत्वको अनुगमन टोलीले त्यहाँ उत्पादित टमाटर जिल्ला मै खपत गर्न सकिने अवस्था देखिएको बताएको छ ।
यसका लागि कृषक, स्थानीय तह र व्यवसायीबीच पहल थालिने याङवरक गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत डम्बर आङदेम्बेले बताए ।
साउन ११ गते याङवरकको परेवाडाँडामा बृहत छलफल गरिने वडा नम्बर ६ का अध्यक्ष कुमारी तामाङले बताइन् ।
टमाटरको पकेट क्षेत्रसमेत घोषणा गरिएको सो क्षेत्रमा उत्पादित टमाटर प्रतिदिन २० पिकअप पूर्वी नाका काँकडभिट्टा हुँदै भारततर्फ निकासी हुँदै आएको थियो ।
निर्यात हुने सूचीमा नपरेको भन्दै भारतले टमाटर निकासी नगरेको एक महिना नाँघेको छ । प्रतिकिलो एक रुपैंयाँमा पनि टमाटर नबिकेपछि किसानले सहज निकासीको व्यवस्था मिलाउन आग्रह गर्दै आएका छन् ।
Comments