लकडाउनमा पनि झापाका सबैखाले पसल अब दिन बिराएर चार घण्टा खोल्न पाइने
Published: (Updated: )
by .जोर गतेका दिन खाद्यान्न पसल र बिजोर गतेका दिन गैर खाद्यान्न पसल खोल्न पाइने
झापा । झापामा आज सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकले लकडाउनमा पनि जिल्लाका बजारमा भिडभाड बढेको निष्कर्ष निकाल्दै अब खाद्यान्न पसल एक दिन र गैर खाद्यान्न पसल अर्को दिन खोल्न पाउने निर्णय गरेको छ ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरसहितको उपस्थितिमा आज बसेको बैठकबाट सो निर्णय गरिएको हो ।
झापा जिल्लामा पसल सञ्चालनको हकमा जोर बिजोर प्रणाली लागु गरिएको जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलले जानकारी दिएका हुन् । उनका अनुसार बिहान ८ देखि दिउँसो १२ बजेसम्म पसलहरू खोल्ने निर्णय यथावत राखिएको छ । अबदेखि जोर गतेका दिन खाद्यान्न पसल र बिजोर गतेका दिन गैर खाद्यान्न पसल खोल्न पाइने भएको छ । यो प्रणाली कृषिजन्य र औषधिमा भने लागु नहुने निर्णय भएको छ । ती पसलहरू दैनिक चार घण्टा नियमित सञ्चालन गर्न पाइने पोर्तेलले बताए ।
त्यस्तै बैठकले नेपाल भारतको सीमा दशगजा क्षेत्रमा अलपत्र बनेका नेपालीलाई ल्याउने विषयमा निर्णय गरिएको छ । उनीहरूलाई क्वारेनटाइनमा राखेर स्वास्थ्य परीक्षणपछि कोरोना नभएको निश्चित गरेर मात्रै गन्तव्यसम्म जान दिइनेछ । अन्य जिल्लाको हकमा कोरोना नभएको सुनिश्चित भए जिल्लाका सदरमुकामसम्म पुर्याउने व्यवस्थासहित सम्पूर्ण व्यवस्थापन प्रदेश सरकारले गर्ने जनाइएको छ ।
नेपाल आउने आफ्ना नागरिकको निम्ति खानपानको थप व्यवस्था गर्न निजी क्षेत्रसँग सहयोगको आव्हान गर्ने निर्णय भएको जनाइएको छ ।
जिल्लाका १५ वटै स्थानीय तहमा रहेका बैक तथा वित्तीय संस्था आधा आधा गरी दिन बिराएर सञ्चालन गर्न पालिकाले व्यवस्था गर्ने निर्णय भएको छ ।
नदीजन्य पदार्थ ढुवानी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म गर्न पाउने, त्यसका लागि स्थानीय तहको सिफारिसमा हुने निर्णय गरिएको छ ।
जिल्लाभित्र खाद्यान्न ढुवानीमा पास नचाहिने र निर्माण सामग्री ढुवानी गर्दा स्थानीय तहले पास जारी गर्ने व्यवस्था गरिएको छ ।
सरकारी कर्मचारीलाई कार्यालय जान आउन पास नचाहिने बैठकले निर्णय गरेको जिसस प्रमुख पोर्तेलको भनाई छ ।
प्रदेशका मन्त्रीसहितको आजको बैठकबाट कोभिड—१९ रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाले केही खुकुलो रहेको लकडाउनलाई थप कडाइका साथ कसिलो गर्ने निर्णय गरेको हो । सरकारले जिल्लाबाट जारी भएका सबै सवारी पास रद्द गरेसँगै उच्चस्तरीय समितिले पनि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रदेश स्तरीय अनुगमन समितिका संयोजक तथा नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, प्रदेश सांसदहरु, समितिका सदस्यहरू, सबै पालिकाका प्रमुख तथा अध्यक्षहरू, प्रमुख जिल्ला अधिकारी तथा सबै सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रमुखहरूको उपस्थितिमा बैठकले सो निर्णय गरेको जनाइएको छ ।
Comments