कोरोना परीक्षण सहजताका लागि ‘एकका लागि एक’ अभियानले एक हजार थान भीटीएम दिने
Published: (Updated: )
by .बिर्तामोड । कोरोना भाइरस नियन्त्रण र उपचारका लागि झापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल सञ्चालनका लागि तत्कालै पहल गरिने भएको छ ।
कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन जिल्लास्तरीय समितिका संयोजक सोमनाथ पोर्तेलसहित झापाका मुख्य राजनीतिक दलका प्रमुखहरुबीच आज बिर्तामोडमा भएको छलफलमा त्यस्तो निश्कर्ष निकालिएको हो ।
अस्पताल तथा पीसीआर परीक्षण प्रयोगाशाला स्थापनाका लागि स्थान पहिचान लगायतका काम तत्कालै अघि बढाउनेसमेत निश्कर्ष निकालिएको छ । कोरोना भाइरसको पीसीआर पद्दतिद्वारा परीक्षण गर्नका लागि झापामा सञ्चालित ‘एकका लागि एक’ अभियानको तर्फबाट एक हजार थान भीटीएम किट खरिद गर्ने सहमति भएको छ । भीटीएम अर्थात् भाइरल ट्रान्सपोर्ट मिडियम भनेको स्वाब राख्ने भाँडो हो ।
छलफलमा जिल्लास्तरीय समितिका संयोजक पोर्तेल, नेपाल कम्युनिष्ट पार्टी झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, जनता समाजवादी पार्टी झापाका अध्यक्षद्वय अनुतसिंह राजवंशी र दीपेनबाला राई, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका वरिष्ठ उपाध्यक्ष कमलप्रसाद खरेल सहभागी थिए ।
उनीहरुले कोरोना महामारी नियन्त्रणमा झापामा भएको कामको समीक्षासहित आ–आफ्नो धारणा राखेका थिए । झापामा राजनीतिक दलहरुबीचको सहकार्य र एकताका कारण महामारी नियन्त्रणको कार्य प्रभावकारी रुपमा भएको छलफलमा सहभागीहरुको निश्कर्ष थियो । जिसस प्रमुख पोर्तेलले दलहरुले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले महामारी नियन्त्रणका लागि जिल्लास्तरीय समिति तथा विभिन्न तहका सरकारसँग अभियानलाई जोड्दै साझेदारीमा कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । ‘एकका लागि एक’ अभियान अन्तर्गत साझेदार संस्थाले हालसम्म गरेको कामको समीक्षासहित संकटको बेला पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।
कोरोना नियन्त्रण जिल्लास्तरीय समिति र अभियानको सहभागितामा कोरोना उपचार, परीक्षणका लागि जिल्लास्तरमा तत्काल गर्नुपर्ने कार्यबारे अध्ययन गरी अघि बढ्ने सहमतिसमेत भएको छ । सीमा क्षेत्रमा अहोरात्र खटिएका तर न्यूनतम सुविधासमेत नपाइरहेका सुरक्षाकर्मीका लागि आधारभूत आवश्यकता तत्काल पूरा गर्न पहल गर्नेसमेत सहमति भएको छ ।
महामारीको अवस्था झन् जटिल बन्दै गएको अहिलेको अवस्थामा आर्थिक, सामाजिक, राजनीतिक रुपमा समेत अझ एकताबद्ध भई साझा र समन्वयात्मक ढंगले अघि बढ्ने दलहरुले प्रतिबद्धतासमेत गरेका छन् । दलका नेताहरुको एउटै आवाज छ ‘दलीय राजनीतिभन्दा माथि उठेर महामारी नियन्त्रणमा अघि बढ्नुको विकल्प छैन । सबै दल झापालाई तत्काल कोरोनामुक्त जिल्ला बनाउने अभियानमा अझ प्रयत्नशील रहनेछौं ।’
Comments