Sajhamanch Archive

मेचीमा कोरोना विशेष अस्पताल थप्ने निर्णयप्रति स्थानीयको असन्तुष्टि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य, by .

भद्रपुर । नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्न विशेष अस्पतालका रूपमा मेची अस्पताललाई विकास गर्ने सरकारी तयारी विवादित बनेको छ ।

विपन्न समुदायको भरपर्दो उपचार केन्द्रका रूपमा रहेको सो अस्पतालमा कोरोना विशेष उपचार केन्द्र थप्ने निर्णयप्रति वडाध्यक्षसहित स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका हुन् । स्वास्थ्य बीमा सेवा, न्यून शुल्कमा उपचार लिने नागरिकहरूले अब उपचार पाउने अवस्था झन् जटिल हुने भन्दै विवाद उत्पन्न भएको छ ।

भद्रपुर ८ नम्बर वडामा रहेको सो अस्पताललाई कोरोना अस्पतालका रूपमा विकास गर्ने निर्णय गर्नु पूर्व अस्पताल विकास समितिले जनप्रतिनिधिहरूसँग छलफलसम्म गरेको छैन । भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज) कोरोना अस्पताल बनाउने निर्णय विपन्न वर्गको उपचार केन्द्र रहेको मेची अस्पतालको शाख समाप्त गरेर भद्रपुर बाहिरका केही निजी अस्पतालमा बिरामीको चाप बढाउने खेल हो भनी तर्क गर्छन् । निर्माणाधीन भवन मुख्य अस्पताल भवनभन्दा ५० मिटर पनि टाढा नभएकाले कोरोनाको उपचार उक्त भवनबाट सञ्चालन गरिनु उपयुक्त नहुने वडाध्यक्ष सुब्बा बताउँछन् ।

सिमित क्षेत्रमा खुम्चिएको अस्पताल आसपास रक्त सञ्चार सेवा, प्रसुती गृह, पोषण पुनःस्थापन केन्द्र, एचआइभी उपचार तथा पुनःस्थापन केन्द्र, क्षयरोग उपचार तथा पहिचान केन्द्र र अर्बुद्ध रोग पहिचान केन्द्रसमेत ५० मिटर दूरी भित्रै पर्दछन् । यस्तो अवस्थामा अन्य विरामी उपचार गर्न कसरी आउन सक्छन् ? वडाध्यक्ष सुब्बाले प्रश्न गरेका छन् । कोरोना विशेष अस्पताल बनाउने निर्णय गर्नुभन्दा पहिले वडा कार्यालयलाई जानकारी दिनु पर्दैन ? सुब्बाले निर्णय नसच्चिए विवाद बढेर जाने प्रष्ट परेका छन् ।

विपन्नहरूको बाक्लो बस्तीसमेत रहेको अस्पतालसित जोडिएको ५ नम्बर वडाका अध्यक्ष बन्धु कार्की विपन्न नागरिकको उपचार सेवा प्रभावित हुने गरी षड्यन्त्रमुलक ढंगले कोरोना अस्पतालको धारणा ल्याइएको बताउँछन् । वडाध्यक्ष कार्की उचित विकल्प कलवलगुरी प्रशिक्षण केन्द्रका खाली भवन हुँदाहुँदै मेची अस्पताललाई अगाडि सार्नु खेदजनक कार्य भएको तर्क गर्छन् । उनले अस्पताल आसपास बाक्लो बस्ती भएका कारण कोरोना उपचार नभएर महामारी बन्ने हुँदा निर्णय सच्याउन माग गरेका छन् ।

जिल्ला समन्वय समिति झापाको समन्वयमा शनिबार बसेको सरोकारवालाहरूको बैठकले भद्रपुरस्थित मेची अस्पतालको नवनिर्मित भवनलाई १०० बेड क्षमताको कोरोना अस्पतालका रूपमा विकास गर्ने निर्णय गरेको थियो । स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला नागरिकले अस्पताल बाहिरको अन्य विकल्पमा छलफल गरेर मेची अञ्चल अस्पताललाई विपन्न नागरिकको उपचार केन्द्रको रूपमा रहन दिन दवाव दिइरहेका छन् । तर पनि झापाका राजनीतिक दल, प्रहरी, प्रशासन लगायतको समर्थन पाएपछि जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले अस्पतालको निर्माणाधीन भवनलाई कोरोना विशेष उपचार केन्द्र बनाउने निर्णय गर्न सफल भएका हुन् ।

कोभिड १९ अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र वा चन्द्रगढीमा रहेको खाद्य संस्थानको खाली गोदाममध्ये एकलाई निर्माण गरिनुपर्ने स्थानीयको माग विपरित निर्णय आएपछि भद्रपुर ५ र ८ का स्थानीय असन्तुष्ट छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *