भारतबाट आउने नेपालीलाई पशुपतिनगर नाकाबाट प्रवेश खुकुलो
Published:
by .इलाम । भारतीबाट स्वदेश फर्किन चाहने नेपालीलाई हिजोदेखि पशुपतिनगर नाकाबाट प्रवेश दिइएको छ । पशुपतिनगरसहित वरपरका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा बस्ने ब्यवस्थासहित उनीहरुलाई प्रवेश दिइएको जनाइएको छ ।
हिजो आइतवार ७६ जना नेपाली स्वदेश फर्किएका छन् । तिनीहरुमध्ये दोलखाका ६७ जना, तेह्रथुमका ७ जना तथा चितवन र काठमाडौंका १–१ जना छन् । प्रवेश नाकामा ती सबैको र्यापिड डाइनोस्टिक टेस्ट (आरडिटी) गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । रिपोर्ट पोजिटिभ देखिएका सबै दोलखाका हुन् । उनीहरूलाई अलग्गै क्वारेन्टिनमा राखिएको छ ।
पशुपतिनगर र वरपरका क्षेत्रमा ४०० जना अटाउने क्वारेन्टिन बनाइएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र र पशुपतिनगर नाका रहेको सूर्योदय नगरपालिकाको समन्वयमा क्वारेन्टिन व्यवस्थापन गरिएको हो ।
पशुपतिनगरस्थित सहरी स्वास्थ्य केन्द्र र विद्यालयको भवनमा सय तथा पञ्चकन्याको करफोक र कन्यामको कृष्णाश्रम माध्यमिक विद्यालयमा १५० जनाका दरले अटाउने क्वारेन्टिन रहेको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए ।
पशुपतिनगर नाकाबाट झण्डै पाँच हजार नेपाली भित्रिने जिल्ला प्रशासन कार्यालय इलामको अनुमान छ । आइतबार बिहानैदेखि पशुपनिनगर नाकाबाट नेपाली प्रवेश गरेका थिए । आज सोमबार पनि प्रवेशको क्रम जारी रहेको जनाइएको छ ।
नाकाबाट भित्रिनेको आरडिटी गर्न पशुपतिनगर गेटमा सामाजिक दूरीसहितको संकेत तयार गरिएको छ । सडकमा पाल टाँगेर उनीहरूलाई अस्थायी रूपमा बस्न सक्ने प्रबन्ध पनि मिलाइएको छ ।
Comments