Sajhamanch Archive

मेची अस्पतालमा कोरोना अस्पताल नथपौंः विवाद समाधान समिति

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by .

भद्रपुर । नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्न विशेष अस्पतालका रूपमा मेची अस्पतालको निर्माणाधिन भवन प्रयोग गर्ने विषयमाथि बहस चलिरहेको छ ।

प्रदेश १ सरकारका अधिकारीहरु, झापाका राजनीतिक दलको नेतृत्व, भद्रपुर नगरपालिकाका प्रमुख–उपप्रमुख, जिल्ला समन्वय समिति झापाको टोली, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, चिकित्सकहरु, रेडक्रसको टिमले सो भवन कोरोना उपचारका केन्द्रका रुपमा विकास गर्न उचित ठहर्याएको छ । तर वडाध्यक्ष र स्थानीय बासिन्दाहरु यस सम्बन्धमा नकारात्मक मात्र छैनन्, विरोधमा नै उत्तिएका छन् ।

सो निर्णय सच्याउन माग राख्दै बनाइएको विवाद समाधान समितिले आज जिल्ला समन्वय समिति झापा र जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएका हुन् ।

समितिका संयोजक भक्त खवासको नेतृत्वमा वडाध्यक्षद्वय गौरव सुब्बा मनोज, बन्धु कार्की, अग्रज पत्रकार गोपाल गिरी, सामाजिक व्यक्तित्व प्रा. डा. पृथ्वीविक्रम राई लगायतको टोलीले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ– अस्पतालसँगै जोडेर निर्माण भइरहेको अस्पताल भवनमा कोभिड अस्पताल वनाउन उपयुक्त नहुने र चलिरहेको अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा कोरोना अस्पताल बनाउँदा जटिल समस्याहरु उत्पन्न भई अस्पतालको सेवा प्रवाहमा नकारात्मक असर पर्ने कुरालाई ध्यानमा राख्दै भद्रपुर मै अर्को विकल्प खोजियोस् भन्ने माग गर्दछौं ।

मेची अस्पताल भनेको विपन्न र निम्न आय भएका आम जनताको आशा र भरोसाको स्वास्थ्य उपचार केन्द्र भएकाले कोभिड अस्पताल बन्ने वित्तिकै पर्ने नकारात्मक प्रभावका बारेमा नजरअन्दाज गरिनु हुदैन भन्ने हाम्रो माग हो । मेची अस्पताल अधिकभन्दा अधिक मात्रामा बीमामा आवद्ध भएका रोगी, वृद्धवृद्धा, न्यून र कमजोर आर्थिक अवस्था भएका परिवारका रोगीहरुको उपचार स्थल हो । यहाँ प्रसुति सेवा, पोषण पुनस्र्थापन गृह, क्षयरोगीहरुलाई औषधी खुवाउने क्षयरोग निवारण केन्द्र र रक्त सञ्चार केन्द्र पनि छ ।

शारीरिक अवस्था कमजोर भएका मानिसहरूको जमघट बढी हुने र तिनैलाई कोरोना भाइरसले बढी प्रभावित पार्ने विज्ञहरुको सुझाव अनुसार सरकारले जमघट नगर्न, भिडभाडमा नजान आव्हान गरिरहेको अवस्थाकाबीच त्यस्ता रोगीहरुको आवागमन हुने ठाउँमा कोभिड अस्पताल बनाउँदा प्रभाव पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

स्थानीयले विकल्पको रूपमा कोभिड १९ अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र वा चन्द्रगढीमा रहेको खाद्य संस्थानको खाली गोदाममध्ये एकलाई निर्माण गरिनुपर्ने माग विपरित निर्णय आएपछि भद्रपुर ५ र ८ का अधिकांश बासिन्दा आन्दोलित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *