विद्यालय नखुलुञ्जेल राहत, पेश्की वा तलब नियमित दिन इष्टुको माग
Published:
by .झापा । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) प्रदेश १ को अन्तक्र्रियात्मक भेलाले ६ बुँदे घोषणापत्र जारी गर्दै वर्तमान शैक्षिक अन्यौल अन्त्यका लागि मार्गदर्शन जारी गरेको छ । ‘‘वर्तमान निजी शैक्षिक समस्या र संगठनको भावी रणनीति’’ विषयमा इष्टु प्रदेश १ ले सम्पन्न गरिएको भिडियो कन्फ्रेन्सबाट बुँदे घोषणा पत्रसहित समस्या समाधानका लागि मार्गदर्शन जारी गरेको हो ।
प्रदेश अध्यक्ष यादव अधिकारीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष होमकुमार थापाको प्रमुख आतिथ्यमा केन्द्रीय पदाधिकारीसहित प्रदेश १ इस्टुका विभिन्न समितिका नेतृत्वमा रहेका पदाधिकारीहरूको अन्तरक्रियाले प्रतिबद्धतासहितको मार्गनिर्देश जारी गरेको हो । सो मार्गनिर्देशनमा शैक्षिक सत्र २०७६ मा पाकेको शिक्षक कर्मचारीको पारिश्रमिक तत्काल उपलब्ध गराउन सबै विद्यालयहरूलाई पुनःअनुरोध गर्ने उल्लेख छ । यसबाट पनि समस्या समाधान नभए बैकल्पिक दवाबमुलक कार्यक्रम घोषणा गर्ने इष्टुको तयारी छ ।
शिक्षक कर्मचारीलाई विद्यालय नखुलुन्जेल राहत, पेश्की वा तलब नियमित तरिकाले विद्यालयले उपलब्ध गराउँदै असहज परिस्थिति आउन नदिन सबै विद्यालय सञ्चालकलाई अनुरोध गर्ने इष्टु प्रदेश १ को निर्णय छ । यस्तै, बालबालिकालाई सुरक्षित तरिकाले विद्यालयमा उपस्थित गराई पठनपाठनको व्यवस्थापन गर्न सम्बन्धित ठाउँमा पहल गर्ने, विद्यालय खुलेपछि सरकारको नीति निर्देशनको मातहतमा रही सरोकारवाला संगठनहरूसंँग बसेर छलफल गरी समग्र समस्याको सामुहिक रूपमा हल खोज्ने इष्टु नेतृत्वको भनाई छ ।
बन्दाबन्दीको अवधिमा पनि कतिपय विद्यालयले शिक्षक कर्मचारी निश्कासन गरेको पाइएकाले उक्त कार्य तत्काल रोक्नुपर्ने र निर्णय सच्याउन पर्नेछ, त्यसो नगरिए तत् तत् विद्यालय केन्द्रीत आन्दोलन अघि बढाउने इष्टुको चेतावनी छ । सो अन्तरक्रियामा सहभागी नेतृत्वले निजी विद्यालय सञ्चालकहरू शिक्षक कर्मचारीका समस्या सुन्न भन्दा आफ्ना गुनासा सुनाउन लागेकोप्रति चिन्ता व्यक्त गरेका थिए । शिक्षक कर्मचारीको साथ नरहे संस्थागत विद्यालय भित्रका समस्या सुल्झाउन विद्यालय सञ्चालक एक्लैले नसक्ने सत्यलाई बिर्सन नहुनेसमेत सुझाव दिइएको छ ।
Comments