Sajhamanch Archive

भद्रपुरमा कोरोना भित्रियो, उपचार गर्ने अस्पतालको विवाद जहाँको तहीँ

Published: in मुख्य समाचार, समाज, स्वास्थ्य, by .

भद्रपुर । भद्रपुरमा नै कोरोना संक्रमित भेटिएपछि यथासिघ्र कोरोना उपचार केन्द्र बनाउन स्थानीयले दबाव दिएका छन् । मेची अस्पतालको निर्माणाधिन भवनमा उपचार केन्द्र सञ्चालन गर्ने अन्तिम तयारीमा रहेका बेला भद्रपुर वडा नं. ५ र ८ का वडाध्यक्ष सहित स्थानीयले विकल्प खोज्न भन्दै रोकेका थिए । तर नगर क्षेत्रमै कोरोना संक्रमित फेला परेपछि शीघ्र व्यवस्थापनको माग गरिएको हो ।

कोरोना अस्पताल विवाद समितिले भद्रपुरमा आज आयोजना गरेको सरोकारवालाबीचको सर्वपक्षीय छलफलमा सहभागीहरूले मेची अस्पताल सञ्चालनमा रहेको भवन जीर्ण र साँघुरो रहेको तथा निर्माणाधीन भवन निर्माणका चरणमा रहेकाले विकल्पका रूपमा रहेका भवन मध्येमा यथासिघ्र अस्पताल सञ्चालन गरिनु पर्ने माग अगाडि सारेका हुन् ।

भेलामा सहभागीहरूले भद्रपुर १० स्थित कलवलगुरी प्रशिक्षण केन्द्रको भवन, चन्द्रगढीमा रहेको खाद्य गोदाम, निर्माणाधीन गिरिजाप्रसाद स्मृति सभागृह, वा निर्माण सम्पन्नको चरणमा पुगेको भद्रपुर नगरपालिकाको नयाँ भवनमध्ये एक स्थानमा अस्पताल सञ्चालन गरिनु उपयुक्त हुने सुझाव दिएका छन् ।

झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरूले कोरोना संक्रमण तीब्र गतिमा देखिएकाले भद्रपुरमै छिटो कोरोना अस्पताल निर्माण आवश्यक रहेको बताएका छन् । तर, छिटो अस्पताल बनाउने बाहनामा असुरक्षित भवनमा निर्माण गरिनु नहुने पनेरूको सुझाव छ ।

प्रा. डा. पृथ्वीविक्रम राईले निर्माणाधीन अस्पताल भवनको सम्पूर्ण काम सम्पन्न गर्न महिनौ लाग्न सक्ने अवस्थामा निर्माण सम्पन्न भएका वैकल्पिक भवनहरू मध्येमा अस्पताल बनाइनु पर्ने सुझाएका छन् । राईले सञ्चालनमा रहेको मेची अस्पताल र प्रस्तावित कोरोना अस्पतालको मुख्य प्रवेशद्वार एउटै भएका कारण पनि प्राविधिक दृष्टिले मेची अस्पतालमा कोरोना अस्पताल थप्न असम्भव देखिने स्पष्ट पारेका हुन् ।

अग्रज पत्रकार गोपाल गिरी स्थानीयमा रहेको कोरोना संक्रमण त्रास अन्त्य हुने आधिकारिक विज्ञ टोलीबिनाको घोषणा नआएकाले समस्या उत्पन्न भएको जनाउँछन् । कोरोना अस्पताल बनाउने हतारोमा तीनतले भवन आधामै निर्माण रोकिने चिन्ताले भद्रपुरको विकासमा अवरोध आएको गिरीको तर्क छ । स्थानीयबासी विकास विरोधी पक्कै होइनन् भन्दै गिरीले अस्पताल बनिनु पर्छ तर, दीर्घकालसम्म असर नगर्ने सोचले काम गर्नुपर्ने सुझाव दिन्छन् ।

कोरोना अस्पताल विवाद समाधान समितिका संयोजक भक्त खवासको अध्यक्षतामा सम्पन्न छलफलमा भद्रपुर नगरक्षेत्रका विभिन्न संघ संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र झापाका राजनीतिक दलहरूका प्रमुखको सिरफारिसमा प्रदेश सरकारले मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार अस्पताल र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला बनाउने तयारी गरेको थियो । तर, भविष्यमा प्रत्यक्ष असर पर्ने भद्रपुरका स्थानीयबासीले अस्पतालमा प्रयोगशाला र कारोना उपचार बनाउन जोखिम हुने भन्दै आपत्ति जनाउँदै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *