हडिया खोला नहर पुनःनिर्माण समितिको हरहिसाब सार्वजनिक
Published:
by .भद्रपुर । भद्रपुर नगरपालिका वडानम्बर ९ स्थित हडियाखोला जल उपभोक्ता समितिले पुनरनिर्माण गरेको नहरको आम्दानी खर्च सार्वजनिक गरेको छ ।
समितिले आर्थिक वर्ष २०७६/७७ मा सिञ्चाइ डिभिजन कार्यालय झापाले दिएको ५० लाख रुपैयाँबाट १६० मिटर नहर बेरियर सिस्टमबाट निर्माण सम्पन गरिँदा ५१ लाख हाराहारी खर्च भएको विवरण सार्वजनिक गरेको हो ।
निर्माण संयोजक चूडामणि मैनालीले दिएको जानकारी अनुसार २ मिटर चौडाइ तथा एक मिटर गहिराई क्षमताभित्र चारपाटे बक्स बनाएर रडमा कंक्रिट मिश्रण गरी मुहान पट्टिबाट १६० मिटर नहर पक्की निर्माण गरिएको छ । उपभोक्ताको सहभागिता २ लाख तथा सिञ्चाइ डिभिजनको अनुदान समेत गरी ४९ लाख ३२ हजार ७२३ आम्दानी रहेको जानकारी दिँदै निर्माण संयोजक मैनालीले ५१ लाख खर्च भएको जनाएका छन् ।
नहर निर्माण स्थलमा पुरानो संरचनाका रूपमा ह्युमपाइपको पाइपलाइन रहेको थियो । पछिल्ला केही वर्षयता ह्युमपाइप धसिएर पाइपलाइनमा समस्या आउन थालेपछि पानी आगमनमा अवरोध सिर्जना हुँदा सो नहरको सिञ्चित क्षेत्रका कृषकले आवश्यकता अनुसार पानी उपभोग गर्न पाएका थिएनन् ।
उपभोक्ता समितिका अध्यक्ष होमनारायण प्रधानको अध्यक्षता तथा वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष रामप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वक्ताहरुले वि. सं. २०४३ सालदेखि सञ्चालित नहरको सम्पूर्ण वहाव क्षेत्र पुनःनिर्माण गरिनुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए ।
Comments