जुम एप्सको प्रविधि र प्रयोग
Published: (Updated: )
by .संसारभर फैलिएको कोभिड १९ को सन्त्रासले हामीलाई केही महिनादेखि भौतिक दूरीबाट टाढा राखेको छ । तर शिक्षक, विद्यार्थी, संघ–संस्थाहरु जो भिडियो कन्फरेन्स मार्फत पठनपाठन, तालिम र भेलाका लागि रुचि राख्छन्, उनीहरूलाई प्रविधियुक्त एप्सले नजिक बनाएका छन् ।
कोरोनाको महामारी चल्नुभन्दा अघिदेखि नै विश्व बजारमा प्रयोग भइरहेका यी एप्सहरू अहिले निक्कै लाभदायी बन्नपुगेका छन् । इन्टरनेट सेवा, एन्ड्रोइड भर्सनको मोबाइल तथा ल्यापटपको पहुँच भएका मानिस र धेरैजसो ठाउँमा यस्ता एप्सहरुको अहिले व्यापक प्रयोग भएको पाइन्छ ।
धेरैजसो ठाउँमा इन्टरनेट सेवासहित राम्रो मोबाइल वा ल्यापटपको पहुँच भएका विद्यार्थीहरू दिनहुँ कक्षामा सहभागिता जनाउँछन् । शिक्षक–प्राध्यापकहरू, प्रशिक्षकहरु, विभित्र सेमिनार, वेभिनारका आयोजकहरुले दिनहुँजसो यिनै एप्सको माध्यमबाट प्रशिक्षण गरिरहेको वर्तमान अवस्था छ । जसबाट राष्ट्रिय तथा अन्तर्रास्ट्रिय तालिमहरूबाट निकै लाभ लिइरहेको पाइन्छ । त्यस्तै विभिन्न सघं–सस्थाहरूबाट पनि आफ्नो व्यवसाय अनुसारको तालिम तथा अन्तरसम्वाद गरिरहेको सुनिन्छ ।
विकसित देशहरूमा इन्टरनेटको समस्या न्यून छ । नेपालकै पनि शहरी क्षेत्रमा इन्टरनेटको सुविधा ठिकै छ । त्यसैले यहाँ पनि भिडियो कन्फरेन्स विधिबाट कक्षा र सेमिनारहरु भइरहेका छन् । अहिले विश्वबजारमा चलाइएका धेरै भिडियो कन्फरेन्स एप्समध्ये नाम चलेकाहरू धेरै छन् । Zoom, Google meet, Google Hangs out, Skype for Business, Go to meeting, Join.me, Web-ex, Slack, Appear.in, Blue jeans आदि प्रयोगमा छन् । यीमध्ये Zoom र Blue jeans को प्रयोग धेरै भएको पाइन्छ । हाल नेपालमा पनि यी दुवै एप्स स्कूल, कलेज र विश्वविद्यालयहरूमा अत्याधिक मात्रामा चलनचल्तीमा रहेका छन् ।
अहिले महामारी शुरू भए पश्चात Gmail ले पनि Video Meeting को feature शुरू गरेको छ । अझ विद्यार्थीहरूको लागि त Google Classroom अत्यन्तै फाइदाजनक देखिन्छ । किनकि शिक्षकले आफ्ना विद्यार्थीका लागि विभिन्न शैक्षिक सामग्रीहरू त्यहाँ राखिदएका हुन्छन् । विद्यार्थीले चाहेको बेलामा अध्ययन गर्न तथा शिक्षकलाई होमवर्क बुझाउन सकिन्छ ।
यसमध्ये यहाँ धेरै प्रयोग भइरहेको Z00m को प्रयोग र यसका केही विशेषताहरू अगाडि सारेको छु ।
पहिला त मोबाइलको Play store मा गएर Zoom Apps Install गर्नुपर्नेछ भने ल्यापटपमा google chrome वा अन्य search engine मार्फत download गरेर नै Install गर्नुपर्ने हुन्छ ।
त्यसपछि फेसबुक म्यासेन्जर वा Gmail मा पठाइएको ID र Password प्रयोग गरी वा दिइएको लिन्कमा click गरी तोकिएको समयमा Zoom मा प्रवेश पाउन सकिन्छ ।
तर Zoom भित्र प्रवेश गरिरहँदा Host ले invite button click गरेपछि मात्रै सहभागीहरूले स्थान पाउने छन् ।
Zoom का सहभागीहरूको संख्या निर्धारण साधारण Zoom Apps मा १०० जनासम्म र Payable license Host मार्फत ५००–१००० जना सम्मले भाग लिन पाउनेछन् । र, अझै unlimited सहभागी गराउने हो भने त्यसैअनुसार रकम तिरेर Host गर्न सकिन्छ ।
Zoom का विशेषताहरूः
दुइवटा भिडियो अप्सन Speaker View र Gallery view मा आएका अन्य सहभागीलाई स्पष्ट देखाइनु ।
Classroom Management रणनीति बनाउन सकिने ।
बाहिरबाट आउने हल्ला बन्द गर्ने अप्सन र सहभागीले चाहेको बेलामा Unmute गरेर बोल्न सक्ने ।
सहभागीले बोल्न चाहेमा Raise Hand मा Click गरी अनुमति माग्न सक्ने ।
Host, शिक्षक वा कार्यक्रम सञ्चालकले कुनै पनि सहभागीलाई बोल्न दिने वा zoom बाट नै हटाउन सक्ने सुविधा ।
सहभागीलाई उनीहरूको नाम एकपटक लेखिसकेपछि बारम्बार परिवर्तन गर्न नदिने ।
Host र वक्ता वा सहभागीले आफ्नो लाइभ भिडियो Mute गर्न सक्ने ।
प्रत्येक सहभागीले संयुक्तरूपमा वा एकापसमा आन्तरिक Chat गर्न मिल्ने ।
Host र सञ्चालकले आफ्नो ल्यापटपमा भएको कुराहरूलाई Screen Sharing को माध्यमबाट सहभागीहरुलाई देखाउन सक्ने । अन्य सहभागीले पनि Host को अनुमति लिई आफ्नो ल्यापटपको Screen Share गर्न मिल्ने ।
Breakout Room: यस Room मार्फत कार्यक्रम सञ्चालकले अर्को एकजना Co-Host तयार पारेर सहभागीहरूलाई छुट्टाछुट्टै कोठामा उनीहरूको विषयअनुसार लैजान सक्छन् र तालिम प्रदान गर्न सक्छन् ।
Basic planको लागि यसमा ४० मिनेटमात्र कुराकानी गर्न मिल्छ । त्यसपछि आफैं काटिन्छ र फेरि Host ले Messenger मा नयाँ लिन्क पठाई शुरू गर्न सकिन्छ । तर 24 hours को लागि वा Unlimited समयको लागि Zoom को प्रयोग गर्ने हो भने 15 US Dollar भन्दा माथि खर्च गर्नुपर्ने हुन्छ । यति रकम खर्च चाहिँ ठूला ठूला व्यवसायीहरूको आफ्नो व्यवसाय प्रवद्र्वनको लागि मात्रै उपयुक्त हुन्छ ।
हाम्रोजस्तो अल्पविकसित देशमा अधिकांश विद्यार्थीहरू गाउँबाट शहरमा पढ्न जानेआउने चलन छ । कोभिड–१९ को सन्त्राससँगै चैत ६ गतेबाट देशभरका स्कूल क्याम्पस विदा दिइए पछि अहिले उनीहरु गाउँघरमा फर्किएका छन् । नेपालका धेरै ठाउँमा इन्टरनेटको सुविधा छैन । लकडाउनको समयमा मोवाइलको रिचार्ज कार्डसम्म किन्न नपाइने अवस्थाको सिर्जना भएको छ ।
अनलाइन कक्षा सञ्चालनका निम्ति त्रिभुवन विश्वविद्यालयले चार लाख जना विद्यार्थी र ११ हजार हाराहारी प्राध्यापकलाई अफिसियल इ–आईडी दिने नीति बनाएको समाचार छ । तर धेरै पैसा तिरेर इन्टरनेट चलाउन सक्ने क्षमताका विद्यार्थी कति छन् र इन्टरनेटको पहुँच भएको स्थानमा कत्तिको गुणस्तरीइ छ भन्ने पनि आम चासोको विषय बन्नुपर्दछ । यस्तो परिप्रेक्ष्यमा सरकारका तर्फबाट इन्टरनेट सेवाको लागि कुनै किसिमको व्यवस्थापन नहुनुले विद्यार्थीहरु नियमितरूपमा पढाइबाट बञ्चित हुने देखिन्छन् ।
(लेखक भट्टराई British Language Institute का सञ्चालक हुन् ।)
Comments