Sajhamanch Archive

इलामका किसान हरियो चियापत्तीको मूल्य लिन आन्दोलन गर्दै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

इलाम । यहाँस्थित सूर्योदय नगरपालिकाका चिया किसान यतिबेला आन्दोलित छन् । नगरपालिकाले निर्धारण गरेको हरियो पत्तीको न्यूनतम समर्थन मूल्य प्रति केजी ४० रुपैयाँलाई उद्योगीले नटेरेपछि चिया किसान आन्दोलित भएका हुन् ।

उद्योगीले विभिन्न बहाना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्ड अनुसार पनि लागत नदिएको भन्दै किसान आन्दोलित बनेका हुन् । उद्योगले हरियोपत्तीमा लागत नै नउठ्ने खालको मूल्य कायम गरेपछि किसान सङ्घर्षका लागि एकजुट हुन बाध्य भएको बताउँछन् ।

सूर्योदय नगरपालिका वडा ८, १० र ११ का चिया किसानले ‘हरियो चिया उत्पादक कृषक सरोकार समिति’ गठन गरेर संघर्षको घोषणा गरेका छन् । उनीहरुकै समन्वयमा चिया उत्पादन हुने सबै वडा र नगरस्तरको समिति पनि गठन गर्ने किसानको तयारी छ ।

नगरपालिकामा बसेर छलफल गरी, जनप्रतिनिधिहरु समेतको रोहबरमा तोकिएको न्यूनतम समर्थन मूल्य कार्यान्वयन नगरेको भन्दै चिया किसानले नगरपालिकामा छ बुँदे ज्ञापन पत्रसमेत बुझाएका छन् । गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५ पूर्णरूपमा कार्यान्वयन गर्न, पहिलो चरणमा टिपेर उद्योगमा पुर्याएको हरियोपत्तीको मूल्य दिलाउने पहल गर्न र लकडाउनका कारण पीडित बनेका किसानलाई राहत उपलब्ध गराउने जस्ता मागहरु नगरपालिकामा बुझाइएको ज्ञापनपत्रमा गरिएको छ ।

न्यूनतम समर्थन मूल्यले हरियोपत्तीको बजार नियन्त्रण गरेकाले आन्तरिक र भारतीय बजारसमेत खुला गर्न तथा चियाको उत्पादन, मूल्यबारे बारम्बार आइरहने समस्याको दीर्घकालीन समाधान गर्न पनि किसानको माग छ । नगरको कार्यविधिले हरियोपत्तीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेको छ । तर उद्योगहरुले किसानलाई प्रतिकिलो २० देखि ३० रुपैयाँमात्र दिने गरेको किसानको भनाई छ ।

सूर्योदय टी प्रोड्युसर्स एशोसिएशनमा आबद्ध ६२ उद्योगमध्ये धेरैले किसानको चियाको मूल्य भुक्तानी गर्न बाँकी छ । केही उद्योगले प्रतिकिलो २० देखि ३० रुपैयाँ मूल्य सार्वजनिक गरेका छन् र सोही अनुरुप भुक्तानी गरिरहेका छन् । हरियोपत्तीको दाम भुक्तान गर्न बाँकी केही उद्योगले चाहिँ ‘समस्या समाधान भएपछि मात्रै भुक्तान गर्ने’ भन्दै रोकेका छन् ।

सो विषयमाथि प्रतिक्रिया जनाउँदै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णुप्रसाद भट्टराईले सूर्योदय नगरपालिकाले तोकेको हरियो चिया पत्तीको न्यूनतम समर्थन मूल्य किसानले पाउनुपर्ने प्रष्ट पारेका छन् । ‘चिया उद्योगीका समस्याहरुबारे छलफल गर्न बोर्ड तयार छ’ बोर्डका कार्यकारी निर्देशक डाक्टर भट्टराईले भनेका छन्, ‘नगरपालिकाले तोकेको न्यूनतम समर्थन मूल्य किसानलाई दिनोस् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *