Sajhamanch Archive

तोडफोड हल्दिबारी कार्यालयको संरचना अध्यक्ष लिङ्देन नै बनाउनु पर्नेः उपाध्यक्ष गिरी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

हल्दिबारी । गत असार १० गते बजेट, नीति तथा कार्यक्रममा भएको विवादले राजनीतिक रंग लिन थालेको छ। गाउँसभा संचालन भइरहेको समयमा अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले सभा बहिस्कार गरेर निस्किएका थिए । पछि स्थानीय तह सञ्चालन ऐन अनुसार उपाध्यक्ष डम्बरबहादुर गिरीको अध्यक्षतामा बैठकलाई निरन्तरता दिएर गाउँपालिकाको बजेट नीति तथा कार्यक्रम पारित गरिाएको थियो ।

आज गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष डम्बरबहादुर गिरीले बहुमत जनप्रतिनिधिले गरेको निर्णयलाई उल्ट्याएर देखाउन चुनौती दिएका छन् । उपाध्यक्ष गिरीले आफ्नै अध्यक्षतामा पास गराएपछि अध्यक्ष र उपाध्यक्ष बीचको ध्रुवीकरण बडेको हो।

आज पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष गिरीले गाउँपालिकाको बहुमत सदस्यद्वारा पारित बजेट, नीति तथा कार्यक्रमलाई उल्टाउएर देखाउन अध्यक्ष लिङ्देनलाई चुनौती दिएका हुन् । उनले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार बहुमत सदस्यद्वारा आफूले बजेट, नीति तथा कार्यक्रम पारित गराएको दावी गरे ।

प्रदेश सरकारको नगर तथा गाउँसभा संचालन सम्बन्धी कार्यविधिलाई समेत टेकेर बजेट पारित गराउने काम भएको उनको भनाई छ । ‘बजेट, नीति तथा कार्यक्रम पारित भएको छ ‘ ढुंगामुडा होइन न्यायालय वा कुनैपनि सम्बन्धित निकायमा गएर त्यसलाई उल्टाउन म उहाँलाई चुनौती दिन्छु ।’

उपाध्यक्ष गिरीले अध्यक्ष लिङ्देनले बुधबार सुनियोजित ढंगले सो घटना गराएको आरोप पनि लगाएका छन् । घटना भएको दिन अध्यक्षले माइन्यूट नराख्नु, उपस्थितिमा आफूले सही नगर्नु र अरुलाई पनि गर्न नदिनु, बाहिर अराजक भीड बोलाएर हुलहुज्जत गराउनु नियोजित भएको उपाध्यक्षसहित बहुमत जनप्रतिनिधिहरुको दाबी छ ।

अध्यक्षले आरोप लगाएजस्तो उहाँमाथि कुनै पनि हातपात नभएको स्पष्ट पार्दै गिरीले जिम्मेवार पद र मर्यादामा रहेका ब्यक्तिले सरासर झुठ बोल्दा गाउँपालिकाको बदनाम भएको बताए । लिङ्देनकै कारण हुलहुज्जत र तोडफोड भएकाले गाउँपालिकामा भएको सम्पूर्ण सार्वजनिक सम्पतिको क्षतिको जिम्मेवारी लिदै आफ्नो कार्यकक्षमा भएको क्षतिको जिम्मा लिन र क्षतिग्रस्त कार्यकक्ष अध्यक्ष आफैंले तत्काल निर्माण गर्न भनेका छन् ।

उनले त्यस घटनामा संलग्नमाथि जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक मुद्धा दायर गरी कानूनी राज्यको पालना गर्ने र आफूसहित आफ्ना पक्षका जनप्रतिनिधि माथि धम्की आएको र कुनै घटना भए त्यसको जिम्मा अध्यक्ष लिङ्देन र प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले लिनुपर्ने दोहोर्याएका छन् ।

बुधबार गाउँसभाका क्रममा भएको सो घटनापछि अध्यक्ष र उपाध्यक्ष बीचको द्वन्द्व बढ्दै गएपछि राजनीतिक रङ्ग देखिन थालेको हो । राप्रपाबाट अध्यक्ष र नेकपाबाट उपाध्यक्ष निर्वाचित छन् । उपाध्यक्षको नेतृत्वमा आज नेकपा संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा वडाध्यक्ष त्रिलोचन सापकोटा, कार्यपालिका सदस्य सागर पोर्तेलसहित नेकपा निकटस्थहरु सहभागी थिए ।

पत्रकार सम्मेलन पछि नेकपा नेता कार्यकर्ताले नारा जुलुससहित मंगलबारे बजार परिक्रमा गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *