चलचित्र बिकास बोर्डका अध्यक्ष दाहाललाइ बधाईको ओइरो
Published:
by .काठमाडौं । नेपाल फिल्म सोसाइटीद्वारा चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहाललाई विशेष कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरेको छ । गत जेष्ठ २२ गतेको मन्त्रिपरिषद बैठकले चलचित्रकर्मी दाहाललाई चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।
नवनियुक्त अध्यक्ष दाहालको कार्यकाल सफलताको कामना गर्दै नेपाल फिल्म सोसाइटीका अध्यक्ष, चलचित्र विकास बोर्डका पूर्वअधक्ष्य तथा अभिनेता कृष्ण मल्लले कार्यकालमा समग्र चलचित्र क्षेत्रको विकास, विस्तार एवम् पेशाकर्मीको संरक्षण र उत्थानमा महत्वपूर्ण पहलकदमीसहित उपलव्धी हासिल गर्नुपर्नेमा जोड दिए ।
कोभिड–१९ तथा लकडाउनले थला परेको चलचित्र उधोगलाई चलायमान बनाउन, चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न र संकटको घडीमा ठप्प भएको चलचित्र क्षेत्रलाई पुनः संचालन गर्न समेत उनले नवनियुक्त अध्यक्षलाई सुझाब दिएका थिए ।
सो अवसरमा नवनियुक्त अध्यक्ष दाहालले चलचित्र क्षेत्रको हित विपरित कहिल्यै काम नगर्ने प्रतिवद्धता व्यक्त गरे । लामो समयदेखि आफू पनि चलचित्र उद्योगमा काम गरेको अनुभवले सम्पूर्ण चलचित्रकर्मीहरुको दुःख पिडा बुझेको हुँदा काम गर्न सहज हुने अपेक्षा सुनाए ।
आफ्नो कार्यकालमा चलचित्र क्षेत्रको उत्थानमा लागिपर्ने र यस विषम परिस्थितिमा सम्भावना र कार्यन्वयनका जटिलताका बारेमा अध्ययन गरी चलचित्रसँग सम्बिन्धित कुनै पनि संघ–संस्था माथि हस्तक्षेप नगरी चलचित्र उधोगलाई नयाँ उचाइमा पुर्याउने दृढता जनाए ।
कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, चलचित्रकर्मीहरु अशोक शर्मा, उज्जल घिमिरे, नेपाल फिल्म सोसाइटीका नायक निर्माता मधुकुमार श्रेष्ठ, गायक शंकरलाल श्रेष्ठ, एसके श्रेष्ठ, नारायण प्रधान, पुरन जोशी, राजेश बिसुराल, कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, निर्माता सुभाष थापा, संचारकर्मी सुर्य चन्द लगायतले बधाइसहित शुभकामना ब्यक्त गरेका थिए ।
Comments