Sajhamanch Archive

मेची बहुउद्देश्यीय कृषि फर्मको सार्वजनिक सुनवाई

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by .

भद्रपुर । मेची बहुउद्देश्यीय कृषि फर्म भद्रपुर ४ ले यसवर्ष कृषि ज्ञानकेन्द्र झापाको सहकार्यमा सञ्चालित पकेट बाली अन्र्तगत तरकारी खेती सम्बन्धी परियोजना कार्यबारे आज सार्वजनिक सुनवाई गरेको छ ।

कृषि फर्म सञ्चालक समितिका अध्यक्ष विजय रिजालको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा परियोजना सञ्चालन स्थलमा सार्वजनिक सुनवाई गरिएको हो ।

सुनवाईमा संयोजक ज्ञानबहादुर चौहानले परियोजना स्थलमा ४ वटा डीप बोरिङ गरिएको, तरकारीका बेर्ना उत्पादनका लागि टनेल निर्माण गरिएको, अर्गानिक मल उत्पादनका लागि गड्यौला मल केन्द्र निर्माण गरिएको प्रतिवेदन प्रस्तुत गरे ।

यस्तै, पावर ट्रेलर खरिदसहित विभिन्न जातका तरकारी खेती गर्दा १३ लाख ५० हजार रुपैयाँको काम सम्पन्न भएको प्रतिवेदन प्रस्तुत गरे । चौहानले ५०/५० प्रतिशत सहकार्यमा सञ्चालित परियोजना कार्यका लागि कृषि ज्ञान केन्द्र झापाले ६ लाख ७५ हजार अनुदान सहयोग तथा फर्मले ६ लाख ७५ हजार लगानी गरेको जनाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले विषादीरहित खेतीमा जोड दिनुपर्ने धारणा राख्दै वर्खे तरकारी उत्पादनमा नगरका लागि योगदान दिन सक्नुपर्ने बताए ।

अध्यक्ष रिजालले दिएको जानकारी अनुसार भद्रपुर गौशालाको स्वामित्वमा रहेको १५ विगाह क्षेत्रफलमा फैलिएको जग्गा वार्षिक २ लाख ४३ हजार भाडा तिर्ने गरी व्यवसायिक खेती थालिएको हो । जसमा सिजनेवल तरकारी र फलफूलको खेती हुँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *