Sajhamanch Archive

ईश्वर र कोरोनाको खोजः संवाद र याचनाको सोच

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, विविधा, साहित्य, by .

गाउँभरि उपद्रो गरेर सबैलाई दिक्क लगाएका दुई जुम्ल्याहा दाजुभाइलाई केहीगरी तह लगाउन नसकेपछि अन्तिम उपायका रुपमा उनीहरुलाई धर्मसभामा लगियो । त्यहाँका धर्मगुरुहरुले केहीगरी यिनीहलाई सुधारिहाल्छन् कि भन्ने आशा उनीहरुका अभिभावकलाई थियो । धर्मगुरुले केटाहरुको अभिभावकका कुरा सुनिसकेपछि पालैसँग दुवैलाई भित्र लगेर सम्झाउने निधो गरे ।

पहिला दाजुलाई भित्र लगियो । एकजना धर्मगुरुले केटोलाई आफूभित्र ईश्वरको बास भएकोले जथाभावी गर्नु ईश्वरको अपमान गर्नुसरह हुने भनेर बुझाउने विचार गर्यो । उसले केटालाई सोध्यो, “भन त ईश्वर कहाँ छन् ?”

केटो अलमलमा पर्यो । ईश्वर कतै कोठाभित्र लुकेर बसेका छन् कि भनेर केटोले यताउता हेर्यो । देखेन ।

धर्मगुरुले ऊ आफैंभित्र ईश्वर छन् भन्ने बुझाउने हेतुले उसैतर्फ देखाउँदै फेरि सोधे, “लु भन, ईश्वर कहाँ छन् ?”

केटो डराउँदै कोठाबाट भागेर बाहिर निस्कियो र आफ्नो भाईलाई भन्यो, “भाई, जाऊँ, भागौं । यिनीहरुको ईश्वर हराएछ । हामीले चोरेका होलाऊँ भनेर सोधखोज गर्न बोलाएका रहेछन् ।”

हे कोरोना, माथिका दुई बालकहरुको ईश्वरप्रति अनविज्ञता जस्तै हामी पनि कतै तिमीप्रतिको सोच र खोजमा अनविज्ञ त छैनौं । आखिर यो खोजी कहिलेसम्म ?

प्रिय कोेरोना,

सर्वप्रथम त दुईहात जोडी परैबाट नमस्कार गर्छु । हात मिलाउन र काँध जोडेर ढाडमा धाप हान्न त सक्दिँन । किनकि तिमीलाई थाहा छ हाम्रो करुणामयी कथा र व्यथा ।

हो, तिमीदेखि निक्कै तर्सिएका छौं हामी । तिमीलाई राम्रो ज्ञान छ कि सतिदेवीको मृत्यु पश्चात् महादेवले उनको पार्थिव शरीरलाई सारा विश्व ब्रम्हाण्डमा बोकेर हिडिरहँदा जहाँजहाँ सतिदेवीका शरीरका टुक्राहरु पतन भई खस्दै गए त्यहाँ त्यहाँ प्रमुख शक्तिपीठहरुको प्रबल सम्भावना र प्रभाव हुर्कंदै गयो । त्यसको अद्भुत चर्चा र परिचर्चा, भक्ति र शक्ति बीचको अटुट प्रेम र अभ्यासमा मानव जीवन समर्पित भइरह्यो । त्यसरी नै तिम्रो उत्तरी आगमनले ब्रम्हाण्डका सबै झुपडीहरुमा डङ्का बजाएर मानव शक्तिका नामुद कुटीहरुमा लङ्का जलाएको छ । शक्तिपीठका देवी देवताहरु जस्तै तिम्रा बढेमानका चर्चा अनि हल्लाहरु प्रत्येक मानवलीलाका अंश अंशमा विद्यमान छ । अब तिम्रा लीलाहरु जनजनले मनमनले सदियौंसम्म सदैव जपिरहनेछन् । गुनगुनाई रहनेछन् ।

डियर कोरोना,

अहिले बेलुकीको ९ बजेको छ । पानी सिमसिम परिरहेको छ । एक दर्जन जति भ्यागुताहरु सातपाखेतिर ट्वार्रर ट्वार्रर कराइरहेका छन् ।
डियर भनिदिँदा नरिसाउनु है ! किनकि तिमी आधुनिक यूगको चेतना हौ, जगेर्ना हौ । किन ? यसको कारण म अहिले अन्त्यमा भन्नेछु । जब तिम्रो उपस्थिति उत्तरबाट वितण्डा मच्चाएर सिधै यहाँ नेपाल नआइकन पश्चिमी ध्रुवतिर कछुवाको तालमा अट्लान्टिक पारहुँदै गयौ । तब पश्चिमी सभ्यताका लाखौं अजङ्गका जीवनहरुलाई विना मलामी जमिन मुनि दफन गरिसकेका छौ । प्यासिफिक महासागर किनारका जल्दाबल्दा महाराष्ट्र बन्दै गरेका हुकुमी शैलीका बादशाहहरुलाई पनि तिमीले रन्थनाएका छौ । घुँडा टेकाएका छौ । राजा र गुलामहरु एकै हातमा आएका छन् तासका पत्तीमा जस्तो । यहाँ कसैले कसैलाई लडाउने छैनन् अब ।

आइ एस आइ एस, तालिवानी लडाकु र बोकाहरामहरु मस्त घोर निन्द्रमा छन् । उनीहरु खतरनाक आतंककारीको विदाइको पर्खाइमा छन् । अन्डरवर्ल्ड दाउदहरु, चोर डाकाहरु, तिसमार खाँहरुका लुटमार स्रोतहरु रित्तिएका छन् । ट्रम्प र किम जोङ्गहरु आफ्ना वनमा लागेका मानवीय डडेलो निभाउन व्यस्त छन् ।

कोरोना हिन्द महासागरमा पनि डुबुल्की लगाउँछ । भेटेका वरिपरीका इलाकाहरुमा प्रवेश गर्छ । भारतीय महाद्विपको उदीयमान शक्तिलाई शिथिल पार्छ । गलाउँछ । गिज्याउँछ । शासन गर्छ । तर कुनै जलसागरले नभेटेको यो सानो देशमा दक्षिणबाट कोरोना देवीको पतन भएको एक टुक्रा शरीर बर्सिन्छ । र, सारा देश अलिअलि गर्दै जलमग्न हुन्छ, बर्षात्को झरीले जस्तो रुझाउँछ, पिरोल्छ । क्वारेन्टिन, आइसोलेशन अपाङ्ग भएर उभिन्छन् तर देशबासी कहिल्यै उभिन नसक्नेगरी थला परिरहन्छन् ।

यतिबेला रातको १० बजेको छ । मेघगर्जनसहित देशका विभिन्न बस्तीहरुमा पानी परिरहेको छ । विजुली बत्तीको सुविधा प्राधिकरणले विच्छेद गरेको छ । छेवैको रेडियो बेतालमा, बेलगाम समाचार बर्बराइहेछ । बाहिरको चट्याङ्गको लाइटिङ्गले परको रेडियोकोे अनुहार बेलाबेलामा चम्किन्छ, देखिन्छ । सायद यतिबेला यो चट्याङ्गले कतिजनाको ज्यान लिइरहेको होला । कोरोनाभन्दा बर्बरता देखाउँछ । आजैमात्र ४ थान ज्यान गएको समाचार सुनियो । अझै के के गर्ने हो यसले ।

कोरोना सुत्न लागेको छ, किनकि रात छिप्पिँदैछ । बिहान बिहानै एक अञ्जुली सूर्य उदाएसँंगै कोराना आगमनको विगुल फुकिन्छ रेडियो, टिभी र पत्रिकाका समाचारहरुबाट । र, शहर बस्तीहरुमा फेरि सधैं झैं आतंकित पारिन्छ । लुटपाट मचाइन्छ, एक दुईथान ज्यान मारिन्छ भोक, छट्पट्टी र तिर्सनाले । एक दुईथान ज्यान बाटामै गाडीको अभावले र गाडीको रवाफले मर्छ । अनि तर्साइन्छ । खबरदार ! कोरोना भित्रिसकेको छ । गाउँमा पसिसकेको छ ।

मित्र कोरोना,

तिमी र हामी त अब मित्र बनिसक्यौं । तीन चार महिना सँगै बस्दा को मित्र बन्दैन र ! तर यहाँ धेरै शत्रु बढेका छन् तिम्रो र हाम्रो नाम बेचेर ।

कोरोना सोध्छिन् :  कसरी मेरो र तिम्रो नाम बेचिए ?

म : तिमीलाई परास्त गर्ने नाउँमा, तिम्रो र हाम्रो नाममा विभिन्न थरिका मास्क, ग्लोभ, सेनिटाइजर, पिपिइ र अन्य सामानहरुमा करोडौं भ्रष्टाचार गरेका छन् यहाँ । राहतका नाममा लुटिएकोछ । दिनुपर्ने कुरा छुटिएकोछ ।

कोरोना  :  म त यहाँ खबरदारीका लागि सांसारिक भ्रमणमा छु । केही दिनको लागि मात्रै पृथ्वीलोकको उडानमा छु । अब म यहाँबाट सिधै उत्तरतिरै प्रस्थान हुनेछु ।

म :  उत्तर ? चीनतिर ? अब फेरि किन उतै ?

चट्याङ्गको लाइटिङ्गले मेरो नजिकै एक स्न्याप फोटो खिच्छ । म झसङ्ग हुन्छु । अहो कस्तो निदाइएछ त । पानी झन्झन् दर्किरहेको छ । रेडियो अझै भुतभुताइरहेको छ । सायद रामकृष्ण ढकाल रुदैंछन् गीतमा ….. ‘वर्षातमा उनी रुझ्दा झरी बनुँ लाग्यो …….’ ।

साँच्चै कोरोनादेवी भन्दैथिइन् उत्तरतिरै जान्छु भनेर । उनी कसरी जान्छिन् र हिमालय छिचोल्दै । सायद जल उडानभन्दा सजिलो नहोला हिमउडान । समुन्द्रको यात्रा भएरै कोरोनादेवीलाई उत्तरबाट पश्चिमको भेगमा जान छिटो भएको होला ।

अनि त युरोप र अमेरिका पुगिन् पहिला ।

रातको ११ बजिसकेको कुरा अर्लामले संकेत गर्दैछ ।

मित्र कोरोना, तिम्रोे एकछिनको सपना आगमनको अर्थ के हुन सक्ला । तिम्रै निहुँ पारेर भारतले तिम्रै छिटोछिटो विदाईका लागि र चीनको बर्बादीका लागि भारतको पिथौरागढबाट नेपालको बाटो लिपुलेकहुँदै चीनको मानसरोवरसम्मको बाटो त खोलिदिएको होइन । कित तिम्रो अन्तिम यात्रा कैलाश मानसरोवरसम्म नै हो । कित भनुँ तिमी कैलाशबासी महादेव पुत्र गणेश त होइनौ, यत्रो विश्वभ्रमण गर्ने । त्यसो भए त एकचोटीमात्रै पूरा भयो होला विश्वपरिक्रमा । अब तीन तीन चोटी कसरी थोग्ने हो हामीले । हाम्रो जीर्ण अवस्थाको जीवन, मजबुरी र प्रताडना तिमीलाई थाहै होला । तिम्रै कारणले मनुष्यचोला संकटग्रस्त छ ।

भोकमारी र अराजकताको दलदलमा भासिँदैछ । शासकहरु जनतालाई करमा करकर गर्दैछन्, महलमा करका बिटोहरुमा मोलमलाई र सत्तामा साढेंजुदाई गरिरहेका छन् । भ्रष्टाचारको आहालमा डुबुल्की मार्दै सिंहदरबारबाट गर्जिरहेका छन् । सायद तिम्रै कारणले ती सत्तामोहित छोटेराजाहरुलाई देशदोहन गर्न सजिलो भएको होला । काण्डैकाण्डको जालोमा फँस्दै गइरहेको उग्र छलाङ्गवादी सम्राटहरु पत्तै नपाई ठूलो भुमरीमा अल्मलिरहेका छन् । सायद यो भुमरीबाट निस्कन फेरि अर्को काण्ड रच्नुपर्दाे हो यिनीहरुलाई ।

अर्को दिन असार १५, दही चिउरा खाने दिनको साँझ ६ बजे समाचार भजन गाउँदैछ । फेरि पढेलेखेका विज्ञहरुको अनुमान फेल भैदिन्छ । सलह किरा अब नेपाल नपस्ने अग्रिम भविष्यवाणी फेल खान्छ । मध्य र पश्चिम नेपालबाट पसेको रिपोर्ट सुनाउँछ । देशभरिका कृषकहरुको मुटुमा ढ्याङग्रो बज्छ । दिनभरि र महिनौंको मिहिनेत र पसिना सम्झिन्छन् । तर विज्ञ केपी बाको भविष्यवाणी सही निस्किन्छ ।

त्यतिनै बेला डब्लु एच ओ हार मान्छ । र, भन्छ समाचारमा– वैकल्पिक उपायहरु सबै अपनाउ र इम्युन सिस्टम बढाउ । अझै बाह्रदेखि सोह्र महिना भ्याक्सिन बन्न समय लाग्न सक्छ । डब्लु एच ओ अनुमानको खेती गर्छ । तर केपी बा भने आफ्नो भविष्यवाणी सावित गरिदिन्छन् । अदुवा र बेसारमा दृढ छन् । ढुक्क छन् । कृषकहरु पनि दही, चिउरा, केरा र कटकर खाएर ढुक्क थिए । पानी मजाले पर्यो अब बाली सप्रन्छ भन्दैथिए । सलहले फेरि जीउमा सुलसुले पसे जस्तैगरी सलबलायो ।

सातपाखे । साँझको ७ बज्यो । पानी सिमसिम परिरहेको छ ।

फेरि भ्यागुताहरुको भोज, जोहोरी र गीत संगीत नृत्य शुरु हुन्छ । ट्वार्रर ट्वार्रर सातपाखेमा । यी जीवहरु स्वतन्त्र छन् । न मास्क न सेनिटाइजर न सरकारी बन्देज । एकसुरमा छन् । एकबद्व लयमा छन् । सायद इन्द्रदेवको भक्तिमा लिन छन् । सातपाखेका जीवहरु । एकताका धुलाबारीको टिमाइखोला यही सातपाखे दह नजिक भएर बग्दथ्यो रे ! पुराना मान्छेहरु भन्छन्, पछिमात्रै त्यसको धार परिवर्तन भयो । सातपाखे, यहाँ भित्र ठूलो दह थियो हामीले देख्दा पनि ।

दिनहुँ बकुल्लाहरु माछा खाना आउँथे र ढुक्थे । ढुक्थ्यौं हामी पनि केटाकेटीमा कहिलेकाहीँ माछा मार्न । सर्प, ढुकुर, कोइली छेवैका सिरिसका रुखहरुमा देखिन्थे । जोडी बकुल्लाहरु धेरैबेर रुँघेर मुखको चुच्चोले माछा समाउँथे र खुसीले पर….. सम्म उडान भर्थे । नुहाउनको लागि प्राकृतिक पानीको मुहान यसैभित्र थियो । सानामा यसको वरिपरि लुकामारी खेलिन्थ्यो । यसको वरिपरि सेताम्ये फुलेका खरबारी थिए । खरबारीडाँडा भनिन्थ्यो । आज यसले पनि आफ्नो डाँडा काटिसकेको छ । स्वरुप परिर्वतन गरिसकेको छ ।
कोरोनादेवी, मेरा उवाचहरु सबिस्तार सुन्यौ होला नि !

आज असार १७, हरिशयनी एकादशी ।

हरि अर्थात् विष्णु । अबको चार महिना कार्तिक हरिबोधनी एकादशीसम्म विष्णु भगवान चिर निन्द्रामा लिन हुनुहनेछ । त्यसैगरी तिमी पनि शताब्दीयौंसम्म चिरनिन्द्रामा गइदिए हामी यो धर्तीमा स्वतन्त्र गुड्ने थियौं । उड्ने थियौं ।

तर अहिले तिम्रा कोरानामयी बस्तीहरुमा पीडा र घाउहरु अझ बाक्लिँदैछन् । एकदमै युद्धस्तरमा । एकदिन त पक्कै पनि इतिहास बन्ला यी समयहरु । समयले स्वरुप बदले पनि, कतै भविष्यको कालखण्डमा विलिन भएपनि प्रत्येक शताब्दी पिच्छे तिम्रो आगमन चलिरहोस् । मानव जातिको उत्थान र कल्याणको लागि पटक पटक यसै धर्तीमा अवतरण भैरहोस् । सम्पूर्ण शिक्षा आर्जनालयहरु बन्द छन् । तर तिमीबाट पाउने शिक्षाहरु यो जगतले प्रत्येक दिन निःशुल्क ग्रहण गरिरहेको छ । त्यसैले त तिमी आधुनिक युगको चेतना हौ ।

(लेखक भट्टराई ब्रिटिस ल्याङ्गवेज एण्ड आईटी इन्स्टिच्यूटका सञ्चालक र समाजशास्त्र तथा अंग्रेजी साहित्यका विधार्थी हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *