Sajhamanch Archive

काँकरभिट्टाको संक्षिप्त इतिहास

Published: (Updated: ) in रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, समाज, by .

आजको काँकरभिट्टा शहर बसेको स्थानमा वि.सं. २०२२ सालसम्म घना जङ्गल थियो । छिमेकी देशको हेपाहा र विस्तारवादी प्रवृत्ति बढिरहेको थियो त्यो बेला । त्यसैका कारण नेपालको अन्तर्राष्ट्रिय सीमामा पहाडेमूलका मानिसहरुको बस्ती बसाल्न तत्कालीन राजा श्री ५ महेन्द्रले उपयुक्त देखेका थिए ।

त्यतिबेला बर्मा भन्ने देश (हालको म्यानमार)–मा आन्तरिक कलह थियो । त्यहाँबाट लखेटिएर नेपालीभाषीहरु भारतको बाटो हुँदै नेपाल आउन थालेका थिए । उनीहरुलाई काँकरभिट्टामा बसोबास गराउने राजाबाट हुकुम भएपछि २०२१ सालदेखि हाल विजय खरेलको घर भएको ठाउँ अगाडि रहेको पूर्वपश्चिम बाटोको उत्तरतर्फ बसोबास गराइयो । सो ठाउँलाई अहिले पनि बर्मेली बस्ती भनिन्छ ।

भारत आसामबाट लखेटिएका प्रवासी नेपालीहरु दमकको सानो बाह्रघरेमा बसोबास गरेका थिए । तत्कालीन बडाहाकिम सन्तबीर लामाले आफ्नो चिया बगान विस्तार गर्न उनीहरुलाई त्यहाँबाट पनि हटाए । उनीहरुलाई पनि श्री ५ कै हुकुमबाट २०२२ सालमा बर्मेलीलाई दिएदेखि दक्षिणको जमिनमा बसोबास गराइयो ।

              नरेन्द्रप्रकाश सिटौला

केही वर्षपछि राजमार्गको रेखाङ्कन भयो । हालको पुरानो भन्सार भन्ने ठाउँमा भन्सार राखिएको थियो । समयको क्रमसँगै राजमार्ग आसपासमा भन्सार, प्रहरी कार्यालय, विद्यालय, बसपार्क, बैंक, पञ्चायत कार्यालय अन्य सरकारी निकायको लागि जग्गा चाहिने महसुस गरी तत्कालीन अञ्चलाधीश छिरिङ लामाले त्यहाँ बसोबास गर्नेलाई अन्यत्र सारेर साठी विगाहा जग्गा खाली गराइयो । सो ठाउँलाई अहिले पनि ‘साठी विघे’को नामले चिनिन्छ ।

यो ठाउँ नकलबन्दा पञ्चायत अन्तर्गत पर्दथ्यो । प्रधानपञ्च ठाकुरप्रसाद घिमिरे, उपप्रधानपञ्च भोगेन्द्र थापा दुबैजना तल्लो भेगका परेको र कृष्णप्रसाद उप्रेती, छत्रबहादुर बस्नेत जस्ताको साथ पाएपछि पञ्चायत कार्यालय दक्षिणतर्फ सार्ने काम भयो । र, २०३३ सालमा गाउँ पञ्चायत भवन बनाएर हाल मेचीनगर नगरपालिका वडा नं. ६ को वडा कार्यालय रहेको ठाउँमा सारियो ।

सबै कार्यालय, विद्यालय, वसपार्क, पञ्चायत सबैलाई जग्गा छुट्याउने काम भयो । पञ्चायतले पाएको जग्गा प्लटिङ गरी भिट्टा वितरण गरियो । तीन महिनाभित्र घर बनाएर व्यवसाय गरी खान्छु भन्ने पञ्चायतले कबुलियत गरी भिटौरी कर लियो । घर बनाउन शुरु गर्यो, प्रहरीले भत्काइदिन्थ्यो । २०४३ सालमा शशी खतिवडा प्रधानपञ्च भएपछि मात्र निर्धक्क भएर घर बनाउन पाइएको हो ।

त्यही ठाउँमा हाल भव्य महल, आधुनिक बस स्टेशन, पानीको फोहोरा, झिलीमिली बत्ती, सुविधा सम्पन्न भन्सार कार्यालय, सुख्खा बन्दरगाह, हेर्न लायक देवकोटाको पूर्णकदको शालीक, चिल्ड्रेन पार्क आदि बनाइएको छ । वि.पी. पुष्पलाल बाटिका तथा शहीद स्मृति प्रतिष्ठान, सामुदायिक भवन, काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्था, काँकरभिट्टा माद्यमिक विद्यालय र काँकरभिट्टा क्याम्पस आदि आज काँकरभिट्टाका गहना बनेका छन् ।

यो ठाउँको नाम कसरी काँकरभिट्टा रहन गयो भन्ने विषयमा पनि संक्षिप्तमा जानौं । पुरानो भन्सारस्थित डम्बर बुढाथोकीको घर दक्षिणतर्फ रहेको पूर्वपश्चिम बाटोको कालीखोला छेउमा रहेको भिट्टा जग्गामा केही घर राजवंशीहरु बस्दथे । कालीखोलामा प्रशस्त ‘गँगटा’ पाइन्थ्यो । राजवंशीले गँगटालाई ‘काँकड’ भन्छन् र बसेको बस्ती ‘भिट्टा’ भएकाले ‘काँकरभिट्टा’ भनियो । राजवंशीले ‘र’ लाई ‘ड’ भन्छन् । पञ्चायत यस ठाउँमा सरेपछि पञ्चायतको नाम ‘काँकरभिट्टा’ राखौं भनेर यहाँका गन्यमान्य व्यक्तिको सहमतिले नकलबन्दाको सट्टा काँकरभिट्टा राखिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *