प्रस्तावित ‘रेल वे’को मार्ग प्रष्ट पार्न झापामा ध्यानाकर्षण पत्र बुझाइयो
Published:
by .झापा । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि अधिग्रहण गर्न लागिएको जमिन बन्दाबन्दीको समयमा अधिग्रहणको ३५ दिने सूचना जारी गरिएकोमा आपत्ति जनाएका छन् । बन्दाबन्दीका कारण सार्वजनिक यातायात पनि बन्द रहेको बेला सूचना जारी गरिनु विधिसम्मत नभएको जनाउँदै विभन्नि व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
प्रभावितहरूको तर्फबाट प्रभावित समन्वय समितिका संयोजक डा. लक्ष्मीप्रसाद मैनाली र सचिव रञ्जित प्रसाईं नेतृत्वको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना र जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलमार्फत सरकारलाई असार २२ गते ध्यानाकर्षण पत्र बुझाएका छन् ।
‘हालको ठेगाना उल्लेख नगरी तत्कालीन गाविका केही वडा तथा पुराना र कतै नयाँ कित्ता नम्बरसहित जग्गाको क्षेत्रफल वर्ग मिटरमा नभई साबिक अवस्थाका विगाहा र धुरमा उल्लेख भएको छ’, ज्ञापन पत्रमा भनिएको छ, ‘हाल जारी सूचना अनुसार रेल वेका लागि आवश्यक पर्ने जमिनको कित्ता नम्बरहरु स्पष्ट नखुलेको, कित्ता नम्बर नमिलेको, जग्गा क्षेत्रफल स्पष्ट नभएको, सार्वजनिक गरिएको कित्ता र हाल भोगचलनमा रहेको कित्ता नम्बर र क्षेत्रफल मेल नखाएको हुँदा गहिरो अन्यौल छाएको छ ।’
बन्दाबन्दीका कारण पनि सूचना प्रभावितसम्म पुग्न नसकेको भनिएको छ । साथै, रेल वे निर्माण गर्ने जमिन, रेलवे ट्रयाकले दायाँ, बायाँ ओगट्ने क्षेत्रफल, टर्मिनल स्टेशसन आदिले ओगट्ने क्षेत्रको आधिकारिक नक्सा उपलब्ध नभएकाले सर्वप्रथम ओगट्ने क्षेत्रको डिमार्केशन सहितको नक्सा जारी गरी जमिनका भोगाधिकारवालालाई आश्वस्त पार्न पनि भनिएको छ ।
सरकारले २४ जेठमा सार्वजनिक सूचना जारी गर्दै काँकरभिट्टा–इनरुवा खण्ड निर्माणका लागि जग्गा अधिग्रहण गर्ने तयारी गरेको थियो । यो सूचना जारी भए पश्चात रेलमार्ग पर्ने भनिएका स्थानका बासिन्दा संसय प्रकट गर्दै आन्दोलनमा उत्रेको अवस्था छ ।
Comments