Sajhamanch Archive

बाह्रदशी जेसीज गठन प्रकृयाप्रति स्थानीय युवाको आपत्ति

Published: in लोकप्रिय, समाज by .

बाह्रदशी । सामाजिक संस्थाका रुपमा अन्तर्राष्ट्रिय पहिचान बनाएको संस्था जेसीज गठनमा गैर भूगोलका बासिन्दालाई नेतृत्व दिइएको थाहा पाएपछि बाह्रदशीका युवाले आपत्ति जनाएका छन् ।

बाह्रदशी जेसीज गठन गर्दा अध्यक्ष बनाइएका बिगम श्रेष्ठ भद्रपुरका स्थायी बासिन्दा हुन् । बाह्रदशीको भूगोलमा नेतृत्व सम्हाल्न सक्ने युवा नभएको जस्तो गरेर भद्रपुरका बासिन्दालाई अध्यक्ष बनाउनु यहाँका युवाको अपमान भएको उनीहरुको ठहर छ । योसँगै बाह्रदशीका सम्पूर्ण क्षेत्रलाई नसमेटी समिति बनाएको, संस्था गठन पूर्व युवाहरुमा व्यापक छलफल नभई एउटा निजी स्कुलभित्र सिमित युवाका बीचमा गोप्य तरिकाले जेसीज गठन भएको जिकिर गर्दै युवाले आपत्ति जनाएका हुन् ।

बाह्रदशी जेसीज गठन प्रकृयासँग असन्तुष्ट युवाको असार २१ गते लगभग २०० जनाको हाराहारीमा भएको भेलाले बाह्रदशी जेसीज गठन गर्दा मातृत्व प्रदान गर्ने सुरुङ्गा जेसीजलाई ध्यानार्कषण गराएको हो । सोको भोलिपल्ट भेलाका संयोजक अनिल सापकोटासहित अभिषेक धमला, युवराज राजवंशी, नवराज दाहाल लगायतको एक टोलीले सुरुङ्गा जेसीजको कार्यालय गएर अध्यक्ष त्रिलोचन उप्रेती तथा सचिव राजु पाठकलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानकर्षण पत्रमा भनिएको छ, स्थानीय आम युवाको भावनालाई हृदयंगम गर्दै सम्पूर्ण जनप्रतिनिधिहरु एवम् तमाम युवाहरु माझबाट बाह्रदशी भूगोलबाटै स्थानीय युवाको मन मस्तिष्कमा अटल कुशल नेतृत्वसहितको बाह्रदशी जेसिज गठनका लागि ध्यानाकर्षण गराउदछौं । साथै बाह्रदशी जेसीजका हैसियतमा गरिने सम्पूर्ण गतिविधिहरुलाई तत्काल बन्द गर्नका लागि सुरुङ्गा जेसीजलाई आग्रह गरेको संयोजक सापकोटाले जानकारी गराएका छन् ।

गएको वैशाखमा सुरुङ्गा जेसीजको प्रस्ताव तथा नेपाल जेसीजका केन्द्रीय उपाध्यक्ष विशाल थापा, पूर्व उपाध्यक्ष बिनोद बस्नेत, पूर्व महासचिव भरत प्रसाई तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष रमेश पोखरेल, सुरुङ्गा जेसीजका अध्यक्ष त्रिलोचन उप्रेती, पूर्व अध्यक्ष कमल कट्टेल लगायतको उपस्थितिमा बाह्रदशी जेसीज गठन गरी सार्वजनिक भएको आफूहरुलाई हालसालमात्र थाहा भएको ती युवाको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *