Sajhamanch Archive

झापामा सम्झिइए जिपी कोइराला

Published: in राजनीति, लोकप्रिय, समाज by .

झापा । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले नेपाली राजनीतिमा दृढनिश्चयी, निडर उच्च मनोबल भएको नेताको आवश्यकता रहेको बताएका छन् ।

नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीको अवसरमा जी.पी. फाउण्डेशन झापाद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले संसद पुनस्र्थापना, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने निर्णय गिरिजाप्रसाद कोइरालाका महत्वपूर्ण र दूरगामी निर्णय भएको जिकिर गरेका हुन् ।

‘एकातिर माओवादीको बन्दुक, अर्कातिर राजाको बन्दुक, दोहोरो बन्दुकको मारमा जनता बाँच्न सक्ने अवस्थामा थिएनन्’ नेता थापाले थपे,– ‘त्यसबेला संसद पुनस्र्थापनाको कल्पना कसैले गरेको थिएन । तर गिरिजाबाबुले संसद पुनस्र्थापनाको कुरा उठाउनुभयो, पुनस्र्थापना गरेरै देखाउनुभयो ।’

नेपाली कांग्रेस झापाका पूर्व सभापति तथा कार्यक्रमका विशेष अतिथि पूर्णानन्द शर्माले राजनेतामा हुने असल चरित्र गिरिजाप्रसाद कोइरालामा रहेको चर्चा गर्दै जस्तोसुकै संकटमा पनि देश र जनताका लागि हित हुने दूरगामी निर्णय लिने अद्भुत क्षमता उहाँमा रहेको चर्चा गरे ।

‘गिरिजाप्रसाद कोइरालाको पालामा देश र जनताका लागि अति महत्वपूर्ण कामहरु भए, संसद पुनस्र्थापना, सहमति, सहकार्य र एकतामार्फत माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने, संवैधानिक राजतन्त्रको अन्त्य अत्यन्तै महत्वपूर्ण निर्णय थिए ।’ शर्माले भनेका छन्– ‘तर पार्टीभित्र अन्तर्घात गर्ने कुसंस्कार पनि कोइरालाकै पालामा शुरु भयो । अब त्यस कुसंस्कारको अन्त्य कार्यकर्ताले गर्नुपर्छ ।’

नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्बाहाम्फेले गिरिजाप्रसाद कोइरालालाई भेट्दा छुट्टै ऊर्जा प्राप्त हुने बताउँदै कोइरालाले अनुशरण गरेको बाटोमा अहिलेको राजनीति नचलेको धारणा राखे । कार्यक्रममा प्रवक्ता लोकराज ढकाल, नेपाल महिला संघ झापा सभापति सुशिला ढकाल, नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनाली, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीलगायतले मन्तब्य राख्दै गिरिजाप्रसाद कोइरालाले बोलेको कुरा गरेरै पुर्याउने गरेको जिकिर गरेका थिए ।

जी.पी. फाउण्डेशन झापाका अध्यक्ष बुद्धि न्यौपानेको अध्यक्षता र सचिव महेन्द्र भटराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत दिपक काफ्लेले गरेका थिए ।

सोही कार्यक्रममा जी.पी. कोइराला फाउण्डेशन झापाले नेपाल प्रेस युनियन झापालाई १०० थान प्रेस ज्याकेट हस्तान्तरण गरेको छ । फाउण्डेशनका अध्यक्ष न्यौपाने, कांग्रेस झापा सभापति थापा, पूर्व सभापति शर्मालगायतले प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीलाई ज्याकेट हस्तान्तरण गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *