एकका लागि एक अभियानमा नेपाल अलैंची व्यवसायी महासंघको २१ हजार सहभागिता
Published:
by .बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघले ‘एकका लागि एक अभियान’मा २१ हजार रुपैयाँ प्रदान गरी सहभागिता जनाएको छ ।
बिर्तामोडमा आज आयोजित विशेष कार्यक्रममा अभियानका सहसंयोजक बिनोद बस्नेतलाई महासंघका महासचिव सुवास भट्टराईले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
झापामा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा पीसीआर परीक्षण प्रयोगशालाका स्थापना गर्न लागिएको छ । झापाबासीका लागि यस्तो अभियान गौरवको विषय भएको ठहर गर्दै सामाजिक काममा एकाकार हुन रकम प्रदान गरिएको महासंघका महासचिव भट्टराईले बताएका छन् ।
महासंघले यसअघि बिर्तामोड क्षेत्रमा रहेका विपन्न परिवारलाई खाद्यन्न तथा अत्यावश्यक सामग्री खरिदको लागि बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा एक लाख रुपैयाँ प्रदान गरेको महासंघका महासचिव भट्टराईले जानकारी दिएका छन् ।
Comments