कटहरिया नगरपालिकामा एकै महिनामा दुई प्रमुख प्रशासकीय अधिकृत निलम्बनः नगरसभा अन्योल
Published:
by .रौतहट । रोतहट जिल्लाका आठवटा स्थानीय तहले असार बित्नलाग्दा पनि नगरसभा गर्न सकेका छैनन्। असार १० गते स्थानीय तहले गाउँ–नगरसभामा आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
कटहरिया नगरपालिकामा एक महिनाको अवधिमा दुईजना प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेपछि नगरसभा गर्न अन्योल भएको छ। असार ७ मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव श्यामकुमार सिंह निलम्बनमा परे । जिल्ला हुलाक कार्यालय दैलेखमा कार्यरत रहँदा भ्रष्टाचार गरेको आरोपमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेपछि उपसचिव सिंह निलम्बनमा परेका हुन् ।
त्यसपछि असार १५ मा शाखा अधिकृत मनोजकुमार रजक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आए । उनी पनि नगरपालिकामा हाजिर भएको एक साता नबित्दै निलम्बनमा परेको नगरप्रमुख सियाराम कुशवाहले जानकारी दिएका छन्।
केही वर्षअघि रौतहट जिल्ला कै राजदेवी नगरपालिकामा कम्बल खरिदमा अनियमिता गरेको आरोपमा अख्तियारले शाखा अधिकृत रजकसहित छजना माथि विषेश अदालतमा मुद्दा दायर गरेको थियो। रजक असार २२ देखि निलम्बनमा परेका हुन्।
प्रमुख प्रशासकीय अधिकृत लगातार निलम्बनमा परेपछि नगरसभा गर्न नसेको नगरप्रमुख कुशवाह बताउँछन् । असार १० भित्र नै नगरसभा गरी सक्नुपर्ने प्रावधान रहे पनि कर्मचारीको अभावले गर्न नसकेको उनको भनाई छ।
संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाइदिँदा सेवाग्राहीको भुक्तानीमा समेत समस्या आएको छ। प्रमुख प्रशासकीय अधिकृतका लागि नगरपालिलकामा कार्यरतमध्ये सिनियर कर्मचारीको नाम मन्त्रालयले मागेको र सोहीअनुसार नाम पठाए पनि अहिलेसम्म कुनै जानकारी नआएको नगरप्रमुख कुशवाह बताउँछन्।
रोतहटको कटहरियासहित बौधमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, देवाही गुनाही नगरपालिका, राजदेवी नगरपालिका, गुजरा नगरपालिका, ईशनाथ नगरपालिका र गरुडा नगरपालिकाको नगरसभा भएको छैन ।
Comments