Sajhamanch Archive

झापाका स्थानीय तहहरु कोटीहोममा स्थापना गरिने पीसीआर ल्यावका लागि ऐक्यवद्ध

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । ‘एकका लागि एक अभियान’को अगुवाइमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा झापामा पीसीआर ल्याव स्थापनाका लागि जिल्लास्थित नगर तथा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा ल्याव स्थापनाका लागि भइरहेको निर्माण कार्यको शुक्रबार अवलोकनपछि भएको छलफलमा पालिकाका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले त्यस्तो प्रतिवद्धता जनाएका हुन् ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको छलफलमा उनले पीसीआर ल्याव निर्माणको क्रम अन्तिम चरणमा रहेको र साउन पहिलो साताबाट सञ्चालनमा आउने गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताए ।

गिरीले नागरिक समाज, सरकार र सहकारी अभियानको साझेदारीको नमूनाको रुपमा सञ्चालनमा आउने ल्यावका लागि झापाका पालिकाहरुसँग सहयोगको आह्वान गरेका थिए । छलफलमा सहभागी पालिकाका प्रमुखहरु मध्ये कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पूर्ण तयारी गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिने ल्याव सञ्चालन तथा व्यवस्थापनको आवश्यक जिम्मेवारी लिन स्थानीय सरकार तयार रहेको जनाए ।

छलफलमा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं, शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपाल, कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईं, झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहा, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, बाह्रदशी गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत राजेन्द्र दाहालले आ–आफ्नो पालिकाका तर्फबाट उक्त कार्यका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *