एनएमसी चारआली कार्यालय र कोप–सप आफ्नै भवनबाट सुरु
Published: (Updated: )
by .मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको चारआली कार्यालय आजदेखि आफ्नै भवनमा स्थानान्तरण गरिएको छ । योसँगै संस्थाको चौथो व्यवसाय एनएमसी कोप–सपको चारआली आउटलेट पनि आजैदेखि सञ्चालनमा ल्याइएको छ ।
आज बिहान ८ बजे पञ्चेबाजा र पञ्चकन्यालाई अगाडि लगाई गुरु पुरोहितहरुले स्वस्तीवाचन गर्दै पुरानो कार्यालयबाट नयाँ कार्यालयसम्म दियो कलशसहित पदयात्रा गरेर गृह प्रवेश गराइएको हो । आजबाट एनएमसीका ६ वटा कार्यालयको सेवा प्रवाह आफ्नै भवनबाट सुरु भएको छ ।
२०७५ साल वैशाख १४ गते शिलान्यास गरिएको भवन निर्माणकै चरणमा रहेको भएपनि पूर्वीय सभ्यताअनुसार आज साइत जुरेकाले गृहप्रवेश गरिएको संस्थाका सञ्चालक समिति सदस्य तथा भवन निर्माण समितिका संयोजक माधवचन्द्र प्याकुरेल बताउँछन् ।
अत्याधुनिक प्रविधिबाट गुणस्तरीय निर्माण सामग्रीहरुको प्रयोग गरेर बनाइएकाले चारआली कार्यालय भवनको लागत धेरै भएपनि सुविधासम्पन्न भएकोमा गौरव गर्नुपर्ने संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती बताउँछन् । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको भएकाले सदस्यहरुले सहजै आउनजान सक्ने, फराकिलो कार्यकक्ष, लिफ्टजस्ता विशेषता सो कार्यालयसँग रहेको उनको भनाई छ ।
यातायातको दृष्टिकोणले सुगम भएका कारण चारआली भवनमा शुभारम्भ गरिएको कोप–सपको भविष्य अत्यन्त राम्रो हुने अध्यक्ष उप्रेतीको विश्वास छ । गतवर्ष शनिश्चरेबाट सुरुवात गरिएको सहकारी पसल सञ्चालनको अभ्यासलाई सार्थक कार्यान्वयन गर्दै राजगढ, बनियानी पछि चारआलीमा आउटलेट सुरु गरिएको हो ।
अबको एकसाताभित्र चन्द्रगढीमा र आउँदो दशैभन्दा अगाडि गौरीगञ्ज, दूधे र बिर्तामोडमा कोप सप सञ्चालनमा ल्याइसक्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाई छ । सहकारी पसलको माध्यमबाट बिचौलियाको अन्त्य गर्दै उत्पादक र उपभोक्तालाई न्याय गर्ने अभियानमा एनएमसी रहेको अध्यक्ष उप्रेती बताउँछन् ।
चारआली भवन निर्माणका लागि असार २७ गतेसम्म दुई करोड ७८ लाख ६७ हजार खर्च भइसकेको निर्माण समितिका संयोजक प्याकुरेलको भनाई छ । भवन निर्माणका लागि युद्धस्तरमा काम गर्दा आजको अवस्थामा ल्याउन सकिएको उनको भनाई छ । चारआलीमा कार्यालय सुरु भएको १२ वर्षदेखि एकै स्थानबाट सेवा प्रवाह गरी आज आफ्नै भवनमा स्थानान्तरण गर्न सफल भएको संस्थाका सञ्चालक सदस्य प्याकुरेल बताउँछन् ।
गत वैशाख महिनामा नै भवन निर्माण सम्पन्न गरी कार्यालय स्थानान्तरण गर्ने कार्ययोजना रहेको भएपनि कोरोना भाइरस संक्रमणको सन्त्रासका कारण सरकारले गरेको लामो लकडाउनले संस्थाको भवन निर्माण कार्य केही पछि धकेलिएको चारआली कार्यालयगत समिति संयोजक प्रेमप्रसाद पौडेल बताउँछन् ।
एनएमसी कोप–सपमा दैनिक उपभोग्य खाद्यान्नदेखि घरायसी सामग्रीहरु बजार मूल्यभन्दा कही सस्तोदरमा खरिद गर्न पाइने गरेको छ । आगामी वर्षहरुमा जिल्लाका सबै स्थानीय तहमा कम्तीमा एक–एकवटा र जिल्लाभरका सहर केन्द्रित गरी ५० वटासम्म आउटलेट सञ्चालनमा ल्याइने संस्थाका कार्यकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेती बताउँछन् ।
Comments