Sajhamanch Archive

दमक क्षेत्रका १० सहकारी एकका लागि एक अभियानमा जोडिएः ६ लाख ५० हजार हस्तान्तरण

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by .

दमक । ‘एकका लागि एक अभियान’को अगुवाईमा जनस्तरबाट झापाको सुरुङ्गामा स्थापना गरिने पीसीआर परीक्षण प्रयोगशालाका लागि दमक क्षेत्रका १० वटा सहकारीले आज ६ लाख ५० हजार ६४४ रुपैयाँ प्रदान गरेका छन् ।

सहारा नेपाल साकोससहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा एकका लागि एक अभियानले सुरुङ्गाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्न लागिएको हो ।

प्रयोगशाला स्थापनाका लागि झापा जिल्ला सहकारी संघले अभियान मार्फत २५ लाख सहयोग गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार दमकमा आज १० वटा सहकारीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नवोदय बहुउद्देशीय सहकारी संस्था कमल गाउँपालिका–३ ले एक लाख ११ हजार १११ रुपैयाँ, मेची सहकारी संस्था दमक–६ ले एक लाख दुई हजार २२२ रुपैयाँ, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमक–६ ले एक लाख एक हजार रुपैयाँ, पूर्व नेपाल बहुउद्देशीय सहकारी संस्था कमल गाउँपालिका–२ ले एक लाख दुई हजार रुपैयाँ प्रदान गरेका छन् ।

कार्यक्रममा नवोदय साकोसको तर्फबाट संस्थाका अध्यक्ष शरणकुमार पराजुली, मेची साकोसको तर्फबाट संस्थाका अध्यक्ष नारायण भट्टराई, सूर्यदर्शन साकोसको तर्फबाट संस्थाका अध्यक्ष टीकाराज सापकोटा, पूर्व नेपाल साकोसको तर्फबाट संस्थाका व्यवस्थापक चन्द्रकला ढकालले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

त्यस्तै दर्पण बचत तथा ऋण सहकारी संस्था दमकले ५१ हजार रुपैयाँ, डाँफे बचत तथा ऋण सहकारी संस्था दमकले ५१ हजार रुपैयाँ, नवदुर्गा बहुउद्देशीय सहकारी संस्था दमकले २५ हजार रुपैयाँ, सूर्यमुखी बचत तथा ऋण सहकारी संस्था दमकले २५ हजार रुपैयाँ, हिमाञ्चल बचत तथा ऋण सहकारी संस्था दमकले २५ हजार रुपैयाँ, दमक बहुमुखी सहकारी संस्था दमकले २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

सोही कार्यक्रममा दमकका सामाजिक अभियान्ता नन्दी अधिकारीले २१ हजार १०० रुपैयाँ र डाँफे बचत तथा ऋण सहकारी संस्था दमकका उपाध्यक्ष सन्तोष श्रेष्ठले ११ हजार १११ रुपैयाँ प्रदान गरेका थिए ।

कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक बिनोद बस्नेतले कार्यक्रमको औचित्य र अभियानको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले अभियानमा हालसम्म देश तथा विदेशका ७० वटा संघ–संस्थाहरु र एक हजार १०० व्यक्तिबाट सहयोग प्राप्त भएको बताउँदै पीसीआर परीक्षण प्रयोगशालाका लागि हालसम्म एक करोड रुपैयाँभन्दा बढी रकम जुटिसकेको जानकारी दिए ।

झापा जिल्ला सहकारी संघका उपाध्यक्ष गीता कुँवरले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा जिल्ला सहकारी संघका सहसचिव भवानीप्रसाद दंगालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *