Sajhamanch Archive

‘गन्धर्वको गीत सुन्न पारखीहरुले धाउनुपर्ने अवस्था बनाइन्छ’ : राज्यमन्त्री गजमेर

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज by .

पथरियामा प्रदेश १ स्तरीय गन्धर्व गीत गायन प्रतियोगिताः उत्कृष्टले पाए नगद पुरस्कार

कचनकवल । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको आयोजना तथा पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाज कचनकवल गाउँपालिका २ पथरियाको समन्वयमा प्रदेश स्तरीय गन्धर्व सांगीतिक प्रतियोगिता तथा प्रोत्साहन कार्यक्रम झापाको कचनकवलमा सम्पन्न गरिएको छ ।

कचनकवल गाउँपालिका २ पथरियास्थित द्रोणाचार्य स्मृति भवनमा पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाजका अध्यक्ष कङ्क गन्धर्वको अध्यक्षता आयोजित कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर प्रमुख आतिथि रहेकी थिइन् । प्रदेश सांसद बसन्त बानिया र गाउँपालिकाका अध्यक्ष अन्जार आलमको विशेष आतिथ्यमा भएको गन्धर्व सांगीतिक प्रतियोगितामा विजयीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रदेश १ का गन्धर्वहरुको सहभागिता रहेको कार्यक्रममा गन्धर्व गीतबाटै स्वागत गरिएको थियो भने एकल प्रस्तुतिका गन्धर्व गीतहरु प्रतिस्पर्धामा राखिएका थिए । प्रतियोगितामा प्रथम हुने डम्वर गन्धवले २० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै अर्का प्रतियोगी गोपाल गन्धर्व द्वितिय भएर १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे भने तृतिय स्थान ग्रहण गर्न सफल शिव गन्धर्वले १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियागिताको निर्णायकमा संगीतकर्मी कृष्ण योञ्जन, विशाल राई र गन्धर्व समाजका सारंगी वादक रजनी गन्धर्व रहेका थिए । उनीहरुको मूल्याङ्कनमा चन्द्रबहादुर गन्धर्वले सान्वना स्थान ग्रहण गरे र ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सो कार्यक्रममा बोल्दै राज्यमन्त्री गजमेरले गन्धर्वहरुको संरक्षण तथा क्षमता विकासका क्षेत्रमा राज्यले विशेष योजना ल्याउन आवश्यक रहेको बताइन । उनले गन्धर्वहरुले अव आफ्ना नानीहरुलाई आफूसँगै गीत गाउँदै सडक बजार तथा चोकचोकमा लिएर जानुपर्ने वाध्यताको अन्त्य गर्ने आश्वासन दिइन् ।

‘संगीतका पारखीहरुलाई गन्धर्व गीत सुन्नका लागि सम्बन्धित क्षेत्रमा आउने वातावरण निर्माण गरी बालबालिकालाई संगीत शिक्षासँगै विद्यालय पठाउने कुरामा सरकारले विशेष चासो दिनेछ’ राज्यमन्त्री गजमेरको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *