सार्वजनिक यातायात सञ्चालन अन्यौल कायमै, व्यसायीका पीडा कसले सुनिदिने !
Published:
by .चीनको वुहान शहरबाट गत डिसेम्बर अन्तिममा देखिएको कोरोना भाइरस (कोभिड–१९)–को माहामारी विश्वभर फैलिइरहेको छ । शक्तिशाली क्षेप्यास्त्र निर्माणमा होडबाजी गरिरहेको आधुनिक युगलाई अदृश्य भाइरसले चुनौती दिइरहेको छ । आठ महिना भयो भाइरसको संक्रमण फैलिएको तर वैज्ञानिकहरुले धेरै प्रयास गर्दा पनि यसको खोप तथा औषधी उत्पादन गर्न सकिरहेका छैनन् । औषधी बनाएको दावी त धेरैतिरबाट भएका छन् तर विश्व स्वास्थ्य संगठनले प्रमाणित नगरेसम्म सो को प्रयोग गरिन्न ।
यही परिदृश्यमा कोरोना भाइरस संक्रमणबाट बच्न र समुदायमा फैलन नदिने उपायको रुपमा विश्वभर ‘लकडाउन’लाई सहारा लिइएको छ । लकडाउनको संहिताभित्र रहनुपर्दा धेरै मुलुकहरु आर्थिक तथा सामाजिक गतिविधिमा निस्किृय बन्न पुगेका छन् । नेपालमा पनि २०७६ चैत ११ गतेदेखि लकडाउन गरिएको छ । आज असार मसान्तसम्म आइपुग्दा पनि लकडाउन पूर्णरुपमा खुला गरिएको छैन । लकडाउनले सम्पूर्ण आर्थिक क्रियाकलाप बन्द हुँदा देशको अर्थतन्त्रमा गम्भीर असर परेको छ ।
लकडाउनका कारण सबैभन्दा धेरै चलचित्र उद्योग, होटल व्यवसाय, पर्यटन व्यवसाय, शिक्षण संस्था, शैक्षिक परामर्शदातृ संस्था, सार्वजनिक यातायातलगायत प्रभावित बनेका छन् । माथि उल्लेखित सबै उद्योग व्यवसायको मेरुदण्ड भनेको यातायात क्षेत्र हो । जब यातायात सञ्चालन हुँदैन, तब कुनै पनि व्यवसाय गर्न सम्भव छैन । यसर्थ मानिसको व्यवहारिक जीवनसँग यातायात क्षेत्रको अभिन्न नाता रहन्छ ।
लकडाउन घोषणा गरेको एकसाता पहिलेदेखि नै सरकारले लामो दूरीको यातायात सेवा बन्द गराएको थियो । यस हिसाबले हेर्दा सार्वजनिक यातायात बन्द भएको चार महिना पुग्न लागेको छ । यसैबीच काठमाडौं उपत्यकाका तीन जिल्लाभर र उपत्यका बाहिर एउटा जिल्लामा सिमित रहने गरी सार्वजनिक यातायात सञ्चालन गर्न गएको हप्ता सरकारले फुकुवा गरेको छ ।
सुरक्षा सावधानीको अधिकतम उपायहरु अवलम्बन गरी सिट क्षमताको आधा यात्रु ओसारपसार गर्न र तोकिएको भाडा दरमा ५० प्रतिशतसम्म बढी रकम लिएर सेवा सञ्चालन गर्न सकिने सरकारको निर्णय छ । तर व्यवसायीले यसको पालना गरिरहेका छैनन् बरु केही मागहरु तेर्साएर यातायात सञ्चालन बारे अन्योल कायम राखेका छन् ।
देशभरका करिब ४ लाख सार्वजनिक सवारीसाधन अहिले थन्किएका छन् । व्यवसायीले कसरी र कहिलेबाट यातायात चलाउने भन्नेबारे निश्कर्ष निकालेका छैनन् । यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग तेर्साएका केही मागको सुनवाई होला कि भन्ने अपेक्षाले आजसम्म सडकमा गाडीहरु गुडाइएको छैन । गाडी सडकमा ननिकाल्नुका व्यवसायीका आफ्नै तर्क, समस्या र कारणहरु छन् ।
साझामञ्चले जिल्लाका विभिन्न यातायात व्यवसायीहरुलाई चार महिनादेखि ग्यारेजमा थन्क्याइएको सवारी साधनको अवस्था, तिनमा आश्रित श्रमिकको रोजगारीको अवस्था अनि सार्वजनिक यातायात सञ्चालनका लागि अबको योजनाका बारेमा सोधेको छ ।
बसमा आधा यात्रुमात्र राख्नुपर्ने भए भाडा डबल बनाउनु पर्यो
खड्गप्रसाद दाहाल, अध्यक्ष
मातृ भाग्यरेखा अटोमोवाइल्स कम्पनी बिर्तामोड
हाम्रो कम्पनीका ५३ वटा गाडीहरु छन् । तिनलाई झापाका विभिन्न ग्यारेजमा राखेका छौं । चार महिनादेखि ग्यारेजमा थन्किएका सवारीहरु सडकमा निकाल्न अनेकन समस्या छन् । ब्याट्री बसेको हुन्छ, टायर ट्युव पन्चर भएका छन्, मोबिल नफेरि गाडी घिस्रिँदैन ।
सबै यातायात मजदूरहरुलाई गत चैत महिनासम्मको पूरै तलब दिएका छौं । सो पछि उनीहरुलाई यातायात सञ्चालन नभएसम्म तलब दिन सक्दैनौ भनेर स्पष्टरुपमा भनेका छौं । अन्य सेवा क्षेत्रमा जान चाहनेलाई रोकावट नगर्न हामीले बेतलबी विदा दिने निर्णय गरेका हौं ।
आजकै अवस्थामा यातायात सञ्चालनमा ल्याउनु ठिक छैन, बरु ग्यारेजमा राख्नु ठिक हुन्छ । यातायात सेवा सुचारु गर्न सरकारले भने पनि कसरी सञ्चालन गर्ने भन्ने अन्यौल मै छौं । भौतिक दूरी कायम गर्न एउटा सिटमा एकजना मात्र यात्रु राख्नु पर्छ । यसका लागि सरकारले डबल भाडा लिन भन्नुपथ्र्यो, डेढामात्र भनिदियो । अनि यात्रुले पनि कुनै गलफती नगरी दिनुपर्छ । यस्ता जायज समस्याका बारेमा राज्यको तहबाट पनि सम्बोधन गरिनु पर्छ ।
प्राइभेट गाडीमा कालोबजारी भइरहेको छ । निजी सवारी साधनमा महङ्गो भाडा लिएर अटी नअटी यात्रु कुदाइरहेका छन् । मोटरबाइकमा पनि एकजना मात्र यात्रा गरौं भन्ने उर्दी गर्ने राज्य संयन्त्रले यहाँ किन लागू गर्न सकिरहेको छैन ? कि भाडाका गाडीहरुमा चड्दा कोरोना सर्ने र निजी गाडीले भाडा लिएरै कोचाकोच यात्रु बोक्दा चाहिँ नसर्ने भन्ने हुन्छ ! मेरो जिज्ञासा कसले सम्बोधन गरिदिने ?
यातायात व्यवसायीका समस्या धेरै छन् । गाडीहरुको इञ्जिन परीक्षण गर्ने, मोविल, ट्युव टायर फेर्ने अतिआवश्यक खर्चहरु थपिने छन् । तसर्थ राज्यले यो समस्या बुझ्नु पर्यो कि यातायात व्यवसायीको स्थिति पनि भयावह छ ।
यातायात व्यवसायीलाई सरकारले बैंकको ब्याजमा राहत दिनुपर्छ
लक्ष्मी अधिकारी काफ्ले, सञ्चालक
मुनाल यातायात मेचीनगर
यातायात व्यवसायीको बिजोग नै भयो । भाडा तिरेर गाडीहरु ग्यारेजमा राखेका छौं । गाडीमुनी झार उमे्रको छ । यत्रो समय थन्केका कारण टायर खत्तम भइसक्यो । करोडौंको लगानी छ । यो बाहेक अरु विकल्प पनि छैन ।
यातायात क्षेत्रका स्टाफहरु कोही गाउँ गएर खेतीपातीमा लागेका छन् । कोही अन्य क्षेत्रमा मजदूरी गरेर खाइरहेका छन् । गाडीहरु अलिअलि चल्न पाए पनि इञ्जिन बिग्रने थिएन । गाडीहरु ग्यारेजमा थन्किएकै कारण धेरै व्यवसायीहरु डिप्रेसनमा गइसकेका छन् । प्रायः सबैले बैंकबाट नै ऋण लिएर व्यवसाय गरेका हुन् ।
बैंकले, बीमा कम्पनीले केही छुट दिनुपर्ने हो, तर कर्जा ताकेता गर्दै बैंकका कर्मचारीहरु घर आउँछन् । हामीले कमाएर तिर्ने आधार नै ग्यारेजमा थन्किएको छ, खिया लागेर उल्टै नष्ट भइरहेको छ तर बैंकको कर्जा ताकेताले हामीलाई पनि रोग लाग्ने सम्भावना थपिएको छ ।
बैंकको कर्जा रकम तिर्न हामी व्यवसायीले ढिलाई गरेको होइन, लकडाउनले आम्दानी नहुँदा रोकिएको हो भन्ने थाहा हुँदाहुँदै पनि ताकेता भइरहन्छ । व्यवसायीको आफ्नो कारणले नभई महामारीका कारणले ढिलाई ऋणको सावाँ ब्याज तिर्न कठिनाई भएको प्रष्ट हुँदा कर्जाको जरिवाना नलिन सरकारले बैंकहरुलाई निर्देशन गर्नुपर्छ ।
हामी व्यवसायीले राज्यलाई बर्सेनी लाखौं रुपैयाँ कर राजश्व तिरेका हुन्छौं । यस्तो संकटका बेला राज्यले यातायात व्यवसायीलाई सम्बोधन गरोस् भन्ने अपेक्षा छ ।
सुरक्षा सावधानी अपनाएर अब सेवा दिन थाल्नुपर्छ
लक्ष्मीप्रसाद उप्रेती, सञ्चालक
नागरिक यातायात मेचीनगर
शैक्षिक प्रतिष्ठानहरु, ठूलो लगानीका होटल र पर्यटन व्यवसायजस्तै सार्वजनिक यातायात क्षेत्र चालू लकडाउले सबैभन्दा धेरै प्रताडित भएको छ । दिनहुँ सडकमा गुड्ने सवारीका साधनहरु चार महिनादेखि ग्यारेजमा छन् । सवारीका इञ्जिनहरु चलाउँदा भन्दा राख्दा धेरै बिग्रन्छन्, त्यही डरले ग्यारेजमा राखिएका गाडीहरु बेलाबेला स्टार्ट गर्ने गरेका छौं ।
सार्वजनिक यातायात सेवा सञ्चालनमा नआउँदा लाखौं मानिसहरु बेरोजगार भएका छन् । अर्बौंको लगानी ग्यारेजमा थन्किएको छ । कोरोना भाइरस संक्रमणका डरले लकडाउन गरिएको कारण सवारीहरु चलाउन पाइएको छैन । तर सरकारले गत हप्तादेखि नै आफ्नो जिल्लाभर सार्वजनिक यातायात सञ्चालन गर्न सकिने गरी खुल्ला गरिसकेको छ ।
अब यात्रुहरु र यातायात मजदूरहरुबीच भौतिक दूरी कायम गर्दै यातायात सञ्चालन गर्नुको विकल्प छैन । यात्रुलाई बसमा उभिन नपर्ने गरी एक सिटमा एकजना यात्रु राखेर भए पनि यातायात चलाउनु पर्छ । यात्रुले मास्क अनिवार्य गर्ने, बसमा स्यानिटाइजरको व्यवस्था गर्ने, यातायात मजदूरहरुले मास्क, ग्लोब्स लगाएर मात्र सेवा प्रवाह गर्ने लगायतका स्वास्थ्य सुरक्षा सावधानी अपनाएर सेवा प्रवाह गरिनु पर्छ ।
Comments