इस्टु भद्रपुरले नगर शिक्षा समिति र प्याब्सनलाई बुझायो ध्यानाकर्षण पत्र
Published:
by .भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुरले सदरमुकाम भद्रपुरमा सुरू गर्न लागिएको पठनपाठन सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराउँदै प्याब्सन, एनप्याब्सनको असार ३१ गतेको निर्णय सच्याउन माग राखी ध्यानाकर्षण पत्र बुझाएको छ ।
विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई गएको शैक्षिक वर्षको वक्यौता पारिश्रमिक नदिई कक्षा सञ्चालन गर्न लागिएको विरोधमा भद्रपुर नगरपालिका तथा नगर प्याब्सनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्याब्सन, एनप्याब्सनको नाममा कानून विपरित साउन १ गतेबाट बेतलवी विदा दिने निर्णय गरेकोले सो को बिरोध गर्दै सदरमुकाम क्षेत्रमा सञ्चालन गरिन लागेको कक्षा विगतका सहमति कार्यान्वयन नगरी सुचारू नगर्न ध्यानकर्षण गराइएको हो ।
नगर शिक्षा समितिका अध्यक्ष नगरप्रमुख जीवनकुमार श्रेष्ठलाई बुझाइएको ध्यानाकर्षण पत्रमा नगर सचिव खिलनाथ पाण्डे, उपाध्यक्ष विदुर ढुंगाना तथा अध्यक्ष द्रोण अधिकारीद्वारा संयुक्त हस्ताक्षर गरिएको छ ।
ध्यानाकर्षण पत्रमा गत जेठ ५ गते प्याब्सन एनप्याब्सन भद्रपुर नगर समितिले इस्टुसित गरेको सहमति साउन ४ गतेसम्म आइपुग्दा कार्यान्वयन नगरेको प्रति गम्भीर आपत्ति प्रकट गरिएको छ ।
जेठ १५ गतेभित्रै भद्रपुर नगर क्षेत्रका प्याब्सन तथा एनप्याब्सनमा आवद्ध विद्यालयहरूले शैक्षिक वर्ष २०७६ को बाँकी रहेको तलब भुक्तानी गर्ने सहमति भएकोमा हालसम्म पनि २० वटाभन्दा बढी विद्यालयले तलब भुक्तानी गरेका छैनन् ।
शैक्षिक वर्ष २०७७ सालको ३ महिना पनि पूरा भयो । यस अवधिमा अधिकांश विद्यालयले भर्चुअल कक्षाका नाममा समेत शिक्षक कर्मचारी परिचालन गरिरहे तर पटकपटक तलव भत्ता मागे पनि विभिन्न बहना बनाएर परिश्रमिक नदिएको इस्टुका ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
Comments