Sajhamanch Archive

फरार दुई अभियुक्त पक्राउ पश्चात आज जेल चलान

Published: in विविधा, समाज by .

भद्रपुर । झापामा विभिन्न समयमा अपराध गरी सजाय तोकिएका दुई जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।

झापा प्रहरीको टोलीले पक्राउ गरी जेल जाने एकजना बहुविवाह मुद्दा र अर्का सरकारी छाप दस्तखत किर्ते मुद्दाका अभियुक्त हुन् । बहुविवाह गरेको अभियोगमा अदालतले सजाय तोकेपनि साविक शरणामती गाविस ५ बस्ने बर्ष ३४ का कुमार शिवाकोटी भन्ने रुपनारायण शिवाकोटी ७ वर्षदेखि फरार थिए ।

कृष्णमाया रिजालले दिएको जाहेरीले वहुविवाह मुद्दामा झापा जिल्ला अदालतले २०७० चैत ०९ गते एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तर, शिवाकोटी फरार रहेका थिए । खोजतलासको क्रममा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो उनलाई झापा गाँउपालिका ६ बाट पक्राउ गरी अदालतमा पेश गर्दा ठेकिएको कैद भुक्तानको लागि झापा कारागार पठाइएको हो ।

त्यस्तै सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार बिर्तामोड नगरपालिका वडा नं १ हनुमाननगर टोल बस्ने वर्ष २५ का सुशिल बस्नेत पक्राउ परी जेल चलान भएका छन् । प्रहरी जवान गोपाल खनालले सरकारी छाप दस्तखत किर्ते गरेको भनी उनीमाथि जाहेरी दिएका थिए ।

सरकारी छाप दस्तखत किर्ते मुद्दामा झापा जिल्ला अदालतले २०७५ वैशाख ३ गते बस्नेतलाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना तोकेको थियो । हालसम्म फरार रहेका उनलाई खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिर्तामोड नगरपालिका १ बाट पक्राउ गरेको थियो ।

उनलाई अदालतमा पेश गर्दा ठेकिएको कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जनाएका छन् । बस्नेतको सवारी चालक अनुमतिपत्र ‘ई’ वर्गको रहेकोमा उनले ‘ए’ र ‘बी’ वर्ग थपेर किर्ते गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *