कोभिडका बिरामीको उपचारमा ह्याम्स अस्पतालको मनलाग्दी बीलः एक जनालाई पाँच दिनको आइसोलन खर्च दुई लाख १७ हजार
Published:
by .काठमाडौं । ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचारमा चर्को शुल्क उठाएको छ । आफ्ना चालक दलका सदस्यहरूको उपचारबापत ह्याम्सले मनलाग्दी शुल्क उठाएको भन्दै नेपाल वायुसेवा निगमले छानबिनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको छ ।
गत २२ असारमा निगमका चालक दलका सदस्यसहित १४ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरूलाई ह्याम्स अस्पतालको आइसोलेसनमा राखेर पाँच दिनसम्म सामान्य उपचार गरिएको थियो । प्रतिदिन एक जनाको ३० हजार ९ सय रुपैयाँका दरले उनीहरूबाट रकम असुलिएको छ । जब कि आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने सामान्य संक्रमितको सरकारले दैनिक शुल्क १४ हजार पाँच सय ६ रुपैयाँ मात्रै तोकेको छ ।
ह्याम्सले १४ जनाको पाँच दिनको २६ लाख ७१ हजार चार सय २६ रुपैयाँको बिल नेपाल वायुसेवा निगमलाई पठाएको छ । एक जना बिरामीबाट बेडचार्ज सात हजार पाँच सय, कोभिड चार्ज दश हजार, नर्सिङ चार्ज चार हजार आठ सय, डाक्टरको शुल्क तीन हजार, इन्फेक्सन कन्ट्रोल दुई हजार, हाउसकिपिङ दुई हजार, खाना तथा पेय पदार्थको एक हजार ६ सय गरी ३० हजार नौ सय उठाइएको छ ।
त्यसमा औषधिको शुल्क जोडेर प्रतिव्यक्ति न्यूनतम एक लाख ७८ हजार दुई सय ७६ देखि दुई लाख १७ हजार ६ सय १९ रुपैयाँसम्म उठाइएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमितलाई उपचारका लागि साधारण, मध्यम र गम्भीर गरी तीन तहमा वर्गीकरण गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार सामान्य संक्रमितको दैनिक उपचार खर्च सबै जोडेर १४ हजार पाँच सय ६ रुपैयाँ तोकिएको छ । यसमा पनि बिरामीले खाना, खाजा अस्पतालमा नखाए र स्वास्थ्यकर्मीले मेडिकल सामग्री ९मास्क, पिपिई, एचआर० नलगाउनुपर्ने अवस्थामा दैनिक खर्च ६ हजार ५२ रुपैयाँ मात्रै हुन्छ ।
त्यस्तै, मध्यमखालका संक्रमितको उपचारका लागि सरकारले २३ हजार नौ सय ९३ रुपैयाँ तोकेको छ । गम्भीर अवस्थामा संक्रमितको उपचारका लागि दैनिक ३८ हजार एक सय १८ रुपैयाँ तोकेको छ ।
२२ असारमा कोरोना पुष्टि भएपछि निगमका पाइलट र चालक दलका सदस्यहरूलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा राखिएको थियो । तर, खानपान र बसाइको राम्रो व्यवस्था नभएको भन्दै निगमले स्वास्थ्य मन्त्रालयको अनुमति लिएर उनीहरूलाई २४ असारमा ह्याम्स अस्पतालमा सारेको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरूमा कुनै लक्षण नै नदेखिएकाले आइसोलेसनमा बस्नेबाहेक कुनै उपचार भएको छैन । तर, पाँच दिनको बिल नै तर्साउने गरी आएपछि २८ असारमा उनीहरूलाई सोल्टी होटेलको आइसोलेसनमा सारिएको थियो ।
अस्पतालले अत्यधिक बिल पेस गरेको भन्दै निगमले छानबिनका लागि स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । ‘हामीलाई बिल अस्वाभाविक लागेपछि स्वास्थ्य मन्त्रालयलाई निवेदन गरेर छानबिनको माग गरेका छौँ,’ निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘यो विषयमा गम्भीर छानबिन हुनुपर्छ ।’
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले सरकारले तोकेकोभन्दा बढी शुल्क कसैले पनि लिन नपाउने बताए । ‘ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचार गर्ने नाममा बढी रकम लिएको जानकारी मन्त्रालयमा आएको छ । हामीले बढी रकम लिन पाउँदैनौ भनेर अस्पताललाई भनेका छौँ,’ उनले भने ।
ह्याम्स अस्पतालका सञ्चालक आरएस भण्डारीले भने सरकारले तोकेको शुल्क मान्नैपर्ने जरुरी नभएको बताए । ‘स्वास्थ्य मन्त्रालयले निजी अस्पताललाई संक्रमित उपचार गर्ने अनुमति र लाग्ने शुल्क उपलब्ध गराएको छैन ।
बिरामी आफैले ह्याम्स अस्पताल रोजेर आएपछि भर्ना गरेका हौँ,’ उनले भने, ‘अस्पतालले तय गरेको बिलमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन । बिरामीलाई दिने स्वास्थ्य सेवामा आधारित भएर शुल्क उठेको हो ।’
नयाँपत्रिकाबाट
Comments