झापामा पहिरोले पुरिएर एक बालकको मृत्यु, तीन घाइते
Published:
by .बुद्धशान्ति । पहिरोले पुरिएर गएरति यहाँ १५ वर्षीय एक बालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बुद्धशान्ति गाउँपालिका वडा नं. ७ मोतिडाँडा बस्ने तेजकुमार बराइलीको घरमा पाहुना आएका विवेक दर्नाललाई पहिरोले पुरेपछि खोजी गर्दा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार तेजकुमार बराइलीको घर गएराति साढे ८ बजेको पहिरोले भत्काएको थियो । टिनको छाना, इँटाको गारो भएको एकतले घरको माथिबाट पहिरो खस्ता गारो भत्किएर घरभित्र पहिरो पसेको हो । स्थानीय बासिन्दा र प्रहरीले करिब दुई घण्टा लागाएर पहिरो पन्साउँदा बालकको शव भेटिएको सूचना अधिकारी थाले जनाएका छन् ।
सो घटनामा ७७ वर्षीया तीलमाया बराइली, वर्ष २१ की कल्पना बराइली र वर्ष १९ की पृष्टिना बराइली घाइते भएकाले स्थानीय लिभिङ होम मेडिकल हलमा उपचारार्थ भर्ना गरिएको प्रहरीले जनाएको छ । मृतक बालक मेचीनगर नगरपालिका वडा नं. ९ का टेकबहादुर बिकको छोरा भएको प्रहरीले जनाएको छ ।
Comments