Sajhamanch Archive

कमलधापको खाल्डोले निल्यो थामी र तामाङ परिवारको सपना

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. २ स्थित धार्मिकस्थल कमलधापसित जोडिएको सिमसार क्षेत्रको विकास हुँदा स्थानीय स्तरमा उन्नति हुने आशा पालेका स्थानीयले सोच्दै नसोचेको शोक व्यहोर्नु परेको छ ।

विकासका लागि निर्माण थालिएको पोखरीमा निर्माण ठेकेदारले सावधानी नअपनाउँदा दलदल बनेको पोखरीमा डुबेर तीनजना बालकको एकै चिहान भएको छ । हिजोको उक्त घटनाले स्थानीय शोकमा डुबेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको विवरण अनुसार मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षका छोरा अंकुश तामाङ, साबिक गरामनी गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुईजना छोरा १४ वर्षका करण र १२ वर्षका अर्जुन थामी रहेका छन् ।

घरमा कोही नभएका बेला दिउँसो ३ बजेतिर घर नजिकै रहेको निर्माणाधीन पोखरीमा माछा मार्न बल्छी लिएर हिँडेका तीनैजना आफैं पोखरीको दलदलमा भासिएर सधैंका लागि विदा भए ।

एकमात्र छोरा भएका अनिल तामाङको परिवार र दुईमात्र छोराकी आमा कमला थामी अब पूर्णतः सन्तानविहिन बन्नु परेको छ । उनीहरूले मात्र होइन समग्र वडाबासीले पनि सोचेका थिएनन् कि त्यस पोखरीको दलदलले बालकहरू चुँडेर लानेछ भन्ने । तर, जिम्मेवार ठेकेदार, सबल नियामक नहुँदा हिउँदमा खनेर छोडेको खाल्डो वर्षादमा भरिँदा बगेर पसेको माटो दलदल बनिएर भासिन पुग्दा कलिला बालकले ज्यान गुमाउनु परेको स्थानीय फागु सुब्बा बताउँछन् ।

सोही कारण बिहीबार दिनभर भद्रपुर २ स्थित कमलधाप क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरबाहीले अव्यवस्थित खाल्डो दलदलमा रूपान्तरण हुँदा तीनजना बालकको डुबेर मृत्यु भएको भन्दै स्थानीय आक्रोसित बनेका हुन् । घटनाले कमलधाप क्षेत्र तनावग्रस्त बनेको हो । तीनजना बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ ।

बुधबार साँझ अबेरसम्म बालकहरु घर नफर्किएपछि उनीहरूको आफन्तले खोजी गरेका थिए । खोजी गर्ने क्रममा बुधबार साँझ साढे ७ बजे अङ्कुश तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो । पोखरीमा अंकुशको मात्र शव फेला परेपछि सोही आधारमा अन्य दुई बालकको पनि प्रहरी र स्थानीयले खोजी गरेका थिए । प्रहरीको गोताखोर टोलीले बिहीबार बिहान मात्र थामी दाजुभाइको शव त्यही पोखरीमा भासिएको अवस्थामा फेला पारेको थियो ।

कमलधाप पर्यटन क्षेत्रमा निर्माणको कार्य गर्दा निर्माण कम्पनीले मापदण्ड नअपनाएको, निर्माण कम्पनीको लापरबाही रहेको भन्दै स्थानीयले झापा प्रहरीमा मुद्धा दर्ता गर्न गएका थिए । तर प्रहरीले मुद्धा दर्ता गर्न नमानेको बताइएको छ । मृतक ३ जना बालकमध्ये अंकुशको शव आफन्तले बुझेर पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको छ । तर थामी दाजुभाइको शव निर्माण ठेकेदारलाई कारवाही नगरेसम्म नबुझ्ने अडान राखेर आफन्तले उठाएका छैनन् ।

सो घटना बारे प्रतिक्रिया जनाउँदै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ विकासका लागि गरिएको संरचना निर्माणस्थलमा अकल्पनीय घटना भएकोमा दुःख व्यक्त गर्दछन् । नगरप्रमुख श्रेष्ठले पीडित परिवारले राखेका माग सम्बोधन हुने गरी आजै लास उठाउने पनि जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *