पिसिआर ल्यावका लागि झापा जिल्ला सहकारी संघले पूरा गर्यो २५ लाखको प्रतिवद्धता, आजै गरियो हस्तान्तरण (भिडियोसहित)
Published: (Updated: )
by .बिर्तामोड । झापा जिल्ला सहकारी संघले केन्द्रीय संघ तथा प्रारम्भिक सहकारी संस्थाहरुबाट संकलन गरी एकका लागि एक अभियानलाई आज २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा कनकाई नगरपालिका ४ कोटीहोमस्थित समर्पण भवनमा नागरिक स्तरबाट स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागि संघले अभियानलाई उक्त रकम प्रदान गरेको हो ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा चेक हस्तान्तरण गरिएको हो । अध्यक्ष ढकाल र प्रमुख अतिथि उप्रेतीले एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका सो कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा पीसीआर ल्याब स्थापना गर्नु झापाबासीकै गौरवको विषय भएको बताए । उनले अभियान सफल बनाउन आफ्नो व्यक्तिगत तथा संस्थागत साथ रहने प्रतिवद्धता पनि जनाए ।
संघका सहसचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेको कार्यक्रममा सहभागी एवम् आमन्त्रितहरुलाई संघका उपाध्यक्ष गीता कुँवरले स्वागत गरेकी थिइन् । कार्यक्रमका अध्यक्ष ढकालले एकका लागि एक अभियानको अगुवाईमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारी अभियान मार्फत सहयोग गरिएको बताए ।
‘ल्याव सञ्चालनमा अवरोध गर्न जन्माइएका अन्तरविरोधहरु हिजोकै मितिबाट सकिएका छन्’ अध्यक्ष ढकालले थपेका छन्, ‘कोरोना संक्रमणको संख्या बढिरहेको सन्दर्भमा जनताले अग्रसरता देखाएर निर्माण गरेको ल्याव हस्तान्तरण गर्छौं, सरकारी निकायले नै चलाउन् भन्दा उल्टो यसमाथि रोकावटको खेल गरिएको कुरा अब पक्कै सकिनेछ ।’
जिल्ला संघको संयोजनमा अभियानका लागि आर्थिक सहयोग गर्ने ५५ वटा प्रारम्भिक सहकारी संस्थाहरुलाई आजै प्रशंशापत्र पनि प्रदान गरिएको छ ।
कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतले कार्यक्रमको औचित्य र अभियानको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले ‘एकका लागि एक’ अभियानमा हालसम्म देश तथा विदेशका १००भन्दा बढी संघ–संस्था र एक हजार २०० भन्दा वढी व्यक्तिबाट सहयोग प्राप्त भएको बताए । पीसीआर परीक्षण प्रयोगशालाका लागि हालसम्म एक करोड रुपैयाँ २० लाख रुपैयाँभन्दा बढी रकम जुटिसकेको बस्नेतले जानकारी दिए ।
सोही कार्यक्रममा मोटरसाइकल स्पेयर पार्टस व्यवसायी संघ बिर्तामोडले २५ हजार रुपैयाँ प्रदान गरेको छ । संघका बिर्तामोड अध्यक्ष उपेन्द्र बानियाँ, उपाध्यक्ष निरज चुडाल र सचिव डिल्ली थापाले अभियानका सहसंयोजक बिनोद बस्नेतलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदूर संगठन ट्याङ्कर कमिटी चारआलीले पाँच हजार १०० रुपैयाँ प्रदान गरेको छ । सो रकम मजदूर संगठन ट्याङ्कर कमिटी चारआलीका अध्यक्ष तोकप्रसाद दुलालल अभियानका सहसंयोजक बिनोद बस्नेतलाई हस्तान्तरण गरे ।
Comments